तिहारको आज मुख्य दिन, भाइटीका

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०८:३२ बजे
भाइटीका

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका रहेको छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने प्रचलन रहेको छ । ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन् ।   

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको रहेको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने  नेपाल पञ्चाङ निर्णायक समितीले जनाएको छ ।  

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

२०७९ कात्तिक १० ०८:३२ बजे

प्रतिक्रिया