चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन -नेतृत्व जीवित रहुञ्जेल रहने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ०७:२९ बजे
चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् ।  बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक आज  बस्न लागेको छ । महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ ।

दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका चान्सु बिदा भएका हुन् । महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरिएको छ ।  

चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । पार्टीको विधानलाई पनि त्यसै अनुसार संशोधन गरिएको चिनियाँ संचार माध्ययमहरुले जनाएका छन् ।

चीनले २०१८ मा संविधान संशोधन गरेर दुई कार्यकाल नेतृत्वको प्रावधान हटाएको थियो । त्यतिबेलादेखि नै राष्ट्रपति सीले आगामी दशकसम्म नेतृत्व गर्ने तय भएको थियो । कतिपयले चीनमा सीको नेतृत्व उनी जीवित रहुञ्जेल रहने दाबी गर्दै आएका छन् ।

शनिबार २ सय ५ सदस्य पूर्ण र १ सय ७७ वैकल्पिक सदस्य रहेको २० औं केन्द्रीय कमिटी घोषणा गरिएको छ । ११ जना मात्रै महिला अटाएको पूर्ण केन्द्रीय कमिटीले महत्त्वपूर्ण विषयमा मताधिकार प्रयोग गर्न पाउँछ । 

अघिल्लो स्थायी समितिमा रहेका सातमध्ये राष्ट्रपति सी, वाङ हुनिङ र झाओ लेजी मात्र केन्द्रीय कमिटीमा दोहोरिएका छन् । दोहोरिएका नेता सीको विश्वासपात्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सी २०१२ मा पहिलो पटक पार्टी महासचिव र २०१३ को मार्चमा राष्ट्रपति बनेका थिए । त्यसैगरी उनलाई केन्द्रीय सैन्य आयोगको अध्यक्ष बनाइएको थियो । हु जिन्ताओबाट सबै प्रमुख पदमा जिम्मेवारी उनले एकैसाथ प्राप्त गरेका थिए । जबकि हुले पहिलो कार्यकालमा सैन्य आयोगको अध्यक्षमा जिआङ जमिनलाई राखेका थिए । दोस्रो कार्यकालमा मात्रै हुलाई पार्टीको महासचिव, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष बनाइएको थियो ।

२० औं महाधिवेशनले तेस्रो कार्यकाल सुनिश्चित गरेसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राष्ट्रपति सी माओत्से तुङ बराबरको नेता बनेको बताएका छन् । पाँच वर्षअघि भएको १९ औं महाधिवेशनले पार्टी विधानमा नै ‘नयाँ युग सुहाउँदो चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी विचारधारा’ लाई सुनिश्चित गरिसकेको थियो । यस पटक भने त्यसलाई अझै मजबुत बनाउँदै विधान संशोधन गरिएको थियो । पहिलो राजनीतिक प्रतिवेदनमा मात्रै आएको सीलाई पार्टीको केन्द्र मान्ने र उनले अघि सारेको विचारलाई पार्टी सिद्धान्तमा रूपमा विधानमै समावेश गर्ने निर्णय भएको छ । सीपीसीको महाधिवेशनले पारित गरेको प्रस्तावमा नेतृत्व र उसको विचारलाई रक्षा र पार्टीका सबै सदस्यले पालना गर्ने विषय समावेश छ ।

चीनको मामिला नजिकबाट हेरिरहेका विश्लेषकहरूले चीनमा माओ र देङ स्याओ पिङले पनि लामो समय नेतृत्व रहेको प्रसंग निकाल्दै ६९ वर्षका राष्ट्रपति सी थप एक कार्यकालभन्दा बढी समयसम्म नेतृत्वमा रहने अनुमान गरेका छन् । माओ ८३ वर्षको हुँदासम्म (बाँचुन्जेल) पार्टीको नेतृत्वमा रहेका थिए भने देङ पार्टीको नेतृत्वमा ८५ वर्षसम्म रहेका थिए ।

नयाँ विश्व व्यवस्थाको पक्षमा देखिएको चीन सीको निरन्तरतापछि अब आक्रामक रूपमा आउने अनुमान गरिएको छ । अमेरिकाले गत साता सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा पनि चीनले अहिलेको विश्व व्यवस्था परिवर्तन गर्न खोजेको र आफ्नो प्रमुख प्रतिद्वन्द्वी देश भएको ठहर गरेको छ । अमेरिकाले सोभियत संघको विघटनसँगै निर्माण भएको ‘शीतयुद्धपछिको विश्वव्यवस्था’ परिवर्तनको संघारमा रहेको जनाएको छ । नयाँ विश्व व्यवस्थालाई कसले आकार दिने भन्ने विषयमा यो दशक निकै महत्त्वपूर्ण रहेको ठहर अमेरिकाले गरेको छ । चिनियाँ राष्ट्रपतिले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको उल्लेख छ । ‘विश्वव्यापी रूपमा चीनलाई रोक्न अमेरिकाले जुन नीति अख्तियार गरेको छ, त्यस हिसाबले पनि शक्तिशाली नेता चाहिन्छ भन्ने चीनको तर्क रहेको छ । एकीकरण प्रक्रिया नसकिएकाले परिपक्व र शक्तिशाली नेता चाहिन्छ भन्ने अर्को तर्क पनि छ । 

२०७९ कात्तिक ६ ०७:२९ बजे

प्रतिक्रिया