चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ ११:२४ बजे
चितुवा

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । 

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

“घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । 

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।


२०७९ कात्तिक ४ ११:२४ बजे

प्रतिक्रिया