पसिना बगाएर फलाएको धान गैँडाले पार्‍यो नष्ट

नगरपालिकाको थोरै बजेटले अति

bimbonline रासस
२०७९ कात्तिक २ ०७:५६ बजे

काठमाडौं । काट्न तयारी अवस्थामा रहेको धानबाली गैँडा पसेर नष्ट गरिदिएको छ। चितवनको माडी नगरपालिका वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो। 

वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो वर्ष के खाने भन्ने चिन्ता भएको बताइन्। उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन्। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पुर्‍याएको बताए। उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिए। भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताए।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको गुनासो गरे। ‘पाँच पाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ’, उनले भने, ‘सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ। मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रतिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन।’, 

नगरपालिकाको थोरै बजेटले अति 

किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै नगरप्रमुख महतोले बताए। ‘निकुञ्जले प्रदान गर्ने १० हजार रुपैयाँले किसानको बीउको मूल्य पनि उठ्दैन’, उनले भने, ‘किसानलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्छ।’ 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पुर्‍याउने गरेको छ।  वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या भइरहेको हो। ‘निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पीसीसीसहितका बार लगाइएको छ तर प्रभावकारी बन्न सकेका छैनन्’, उनले भने। 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए। गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा तीन करोडको राहत वितरण गरेको उनको भनाइ छ।

२०७९ कात्तिक २ ०७:५६ बजे

प्रतिक्रिया