आइफोनसँगै चार्जर नदिएपछि एप्पलमाथि साढे २ अर्ब जरिवाना

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १४:५४ बजे
एप्पलमाथि साढे २ अर्ब जरिवाना

काठमाडौं । ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो । एप्पल कम्पनीविरुद्ध एसोसिएसन अफ बारोअर्स, उपभोक्ता समूह तथा करदाताले मुद्दा दायर गरेका थिए । एप्पलले चार्जर बिनाका फ्लागसिप आइफोन बिक्री गरेर गलत अभ्यास गरिरहेको उनीहरुको दाबी थियो ।

एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । कार्बन उत्सर्जन तथा विद्युतीय फोहोर कम गर्न आइफोनसँगै बक्समा चार्जर उपलब्ध गराउन छाडेको एप्पलको जिकिर छ । एप्पलले हाल नयाँ आइफोनको बक्समा सँगै चार्जर राखेको हुँदैन । उसले ग्राहकहरुलाई छुट्टै चार्जर बेच्ने गरेको छ ।

ग्रीन इनिसिएटिभका नाममा एप्पलले ग्राहकमाथि छुट्टै चार्जर किन्ने बाध्यता थोपरेको अदालतको ठहर रहेका छ । यसअघि एप्पलले नयाँ आइफोनसँगै बक्समा नयाँ चार्जर पनि दिने गरेको थियो । तर सन् २०२० आइफोन-१२ बजारमा ल्याएसँगै एप्पलले आइफोनको बक्ससँगै सित्तैंमा चार्जर दिन बन्द गरेको थियो ।

२०७९ असोज ३१ १४:५४ बजे

प्रतिक्रिया