संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ २०:०२ बजे
सत्यमोहन जोशी

काठमाडौं ।   संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।  

उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, 'समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।' जोशीको उपचार प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा गरिरहेको छ । 

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका हुन् । उनलाई अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल  रहेको अस्पतालले जनाएको छ ।  जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको अस्पतालले जनाएको छ ।  यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै 'स्याचुरेन' (शरीरमा अक्सिजनको मात्रा) शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।

अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो । पछिल्लो विज्ञप्तिमा भने ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको जनाइएको छ ।




२०७९ असोज २८ २०:०२ बजे

प्रतिक्रिया