देशभर ६ हजार बढीको उम्मेदवारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०७:२४ बजे
उम्मेदवारी

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाको ३ सय ३० सिटका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।

आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि उम्मेदवारलाई मनोनयनको समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगका अनुसार आइतबार रातिसम्म उम्मेदवारी दर्ता कार्य जारी रहेकाले मनोनयन गर्नेको संख्या बढ्न सक्नेछ ।

तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य राति अबेरसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ । जसका कारण मनोनय गर्नेको संख्या केही बढ्ने देखिएको हो ।

आयोगका अनुसार आइतबार रातिसम्म प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २ सय ९३ महिला र १ अन्य गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ । राजधानी दैनिकबाट

२०७९ असोज २४ ०७:२४ बजे

प्रतिक्रिया