पानिको बहाव बढेपछि गण्डक ब्यारेजका २२ ढोका खोलियो

गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० १०:१२ बजे
गण्डक ब्यारेज

काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव  बढेपछि  त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलेको हो ।

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको छ । बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको  त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले बताएका छन्   ।

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरूले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले  जनाएका छन् ।

पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रूपमा रहनसमेत आग्रह गरिएको छ ।  गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । 

बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गर्दै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।  

२०७९ असोज २० १०:१२ बजे

प्रतिक्रिया