दसैंको टीकाको दिन यि ठाउँमा पर्दैछ ठूलो पानी

सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ ०९:१० बजे
दसैं

काठमाडौं । यस पालीको दसैंको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागले यसपालीको दसैंमा केहि स्थानमा पानि पर्ने सम्भावना रहेको  जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने  सम्भावना रहेको जनाएको छ । 

आउँदो बुधवार विजयादशमी देखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदो मंगलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश(१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको महाशाखाले जनाएको छ ।  

बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

 बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशहरूका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको  छ ।

 पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले  आग्रह गरेको छ । 

२०७९ असोज १५ ०९:१० बजे

प्रतिक्रिया