काबुलको एक शैक्षिक केन्द्रमा विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु

तालिवानले गर्यो आक्रमणको निन्दा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १४:४३ बजे
शैक्षिक केन्द्रमा विस्फोट

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार सहरको पश्चिमी भागको दश्त–ए–बर्चीस्थित काज शिक्षा केन्द्रमा विस्फोट भएको हो ।

विद्यार्थी परीक्षा दिइरहेका बेला विस्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् । विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन ।

तालिवानले गर्यो आक्रमणको निन्दा

तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ । अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ‘शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।

अफगानिस्तानको सत्तामा अघिल्लो वर्ष अगस्टमा तालिबानको फिर्ता भएको छ र उनीहरुले देशको अवस्थालाई स्थिर बनाउन प्रयास गरिरहेको बताएका छन् । तर, देशमा तालिवानको विपक्षी इस्लामिक स्टेटले आक्रमण जारी राखेको छ ।

यसअघि पनि दस्त–ए–बर्चीमा धेरै आक्रमण भएका छन् । केही आक्रमणमा विद्यालय र अस्पताललाई निशाना बनाइएको थियो । गत वर्ष, अफगानिस्तानमा तालिबान सत्तामा फर्कनु अघि, दश्त–ए–बर्चीमा गर्ल्स स्कुलमा हमला भएको थियो जसमा ८५ जना मारिएका थिए । मृत्यु हुनेमा धेरैजसो विद्यार्थी थिए र यसमा सयौँ घाइतेसमेत भएका थिए । एजेन्सी 

२०७९ असोज १४ १४:४३ बजे

प्रतिक्रिया