किन मनाइन्छ दशैं

दशैंको नेपालमा इतिहास

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १२:२८ बजे
दशैं

काठमाडौं । अन्यायमाथि न्यायले विजय हासिल गरेको खुसीमा हामी दशैं मनाउँछौँ । प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दशैं भनिन्छ। दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्रि देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दशैं नामाकरण गरिएको एकातिर पाइन्छ भने अर्कोतिर लगातार नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः कतै शैलपुत्री, ब्रह्मचारिणि, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रि गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ भने कतै नीलकण्डी, क्षेमङकरी, हरिसिद्धि, रुद्रांसदुर्गा, वाणादुर्गा, अग्निदुर्गा, जयदुर्गा, विन्ध्यवासिनी दुर्गा र रियुमारी दुर्गा गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ। यीमध्ये जुन देवीको नाममा पूजा गरे पनि नौ देवीको पूजा गरिने हुनाले यस पर्वलाई नवरात्र भनेर पुकारिन्छ। शक्तिकी अधिष्ठात्रि देवी दुर्गा भन्नाले देवदेवीमध्ये सबैभन्दा बढी मान्यता प्राप्त इष्टदेवी, कुलदेवी अथवा प्रमुख संरक्षिका देवीलाई बुझाउँछ।

फेरि यो दशैं पर्व हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड भएकाले यस दश दिने दशैंलाई बडादशैं पनि भनिन्छ। कतै–कतै यस दशैंपर्वलाई प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन पनि मनाइन्छ। हिन्दु संस्कृतिमा नवरात्र अथवा दशैंको परम्परा र प्रचलन निकै पुरानो मानिएको छ। सत्ययुगदेखि नै नवरात्रभर दुर्गापूजा गर्ने गरिएको पाइन्छ। 

दाहरणका लागि सत्ययुगमा देवताले दानवीय शक्तिमाथि विजय पाउनका लागि नवरात्रीय दुर्गा पूजा प्रारम्भ गरेका थिए भने त्रेतायुगमा भगवान् रामचन्द्रले रावणमाथि विजय पाउनका लागि तथा द्वापरयुगमा भगवान् श्रीकृष्णले मानवको दुःख संकट निवारण गर्ने कार्यका लागि नवरात्रमा दुर्गा पूजा गरेका थिए। यसैको फलस्वरूप आफ्नै मामा राक्षशवंशी कंशलाई मारेर मानव उद्धार गरेका थिए। नवरात्रमा माता दुर्गाको पूजा गर्दा वलि दिने प्रचलन रहिआएको छ। यस्तो वलि दिँदा कुभिण्डो, काँक्रो, उखु, पुलाकी (रुखविशेष), वेल, नरिवल र कुशर (दाल–चामल) वलि दिने प्रचलन छ। सप्तमीको दिनमा वचनकी अधिष्ठात्रि सरस्वतीको पुस्तक, कपी, कलम र मसिदानीसमेतलाई एकै ठाउँ राखेर पूजा गरिन्छ। यही सप्तमीको दिनमा फूलपाती भित्र्याउने चलन छ र यो फूलपातीमा नौजातका वनस्पतीहरू समावेश गरिन्छ। ती नौजातका वनस्पतीमा केरा, दारिम, धानको बोट, हलेदोको बोट, कुभिण्डो, कचु(लेदोको जस्तो पात हुने एकप्रकारको बोट), वेल, अशोक र जयन्तीलाई लिइएको छ।

अष्ठमीको दिन महागौरी नामक दुर्गाको पूजा गरिन्छ।यसै दिनको राति कालरात्रिको पूजा गरिन्छ। कालरात्रिमा भैरव, सिंह, र भगवतीको हातहतियार र गणहरूको साथमा अष्ठमातृका, नवदुर्गा र दशमहादेवी, कोटियोगिनी, दिशा र दिक्पालको पूजा गरिन्छ। नवमीको दिनमा त्रिशूल देवीको पूजा गरिन्छ। नवदुर्गामध्येकी अन्तिम दुर्गा सिद्धिदात्रि देवीको पनि यसै नवमीमा पूजा गरिन्छ। यसप्रकार नवरात्रभर नवदुर्गाको पूजा, आराधना गरेपछि दशमीको दिनमा प्रतिपदाको बेलुका शुद्ध माटो र बालुवामा मकै र जौ भिजाएर राखिएका पहेंला जमरा र राता अक्षताले ठूला–वडाले आफूभन्दा सानालाई शुभ आशीर्वाद दिई टीका लगाइदिनाले उत्तम हुन्छ भन्ने हिन्दु धर्मावलम्वीहरूमा विश्वास छ। 

दशैंको नेपालमा इतिहास 

नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ। हिमाली क्षेत्रमा चिसो ज्यादा र मौसम प्रतिकूल हुने भएकाले दसैँ मनाउने प्रचलन छैन, तर त्यहाँ पनि शक्तिको उपासना हुन्छ । मधेसमा पनि पहाडमाजसरी दहीले मुछेको चामलको टीका लगाइँदैन होला, जमरा राखिँदैन होला । तर, मिथिला क्षेत्रमा (नेपालको मधेस र उत्तर भारतको बिहार) सप्तमीदेखि भजन कीर्तन गर्ने, नवमीसम्म विशेष पूजा गर्ने र दशमीको दिन मूर्ति विसर्जन गर्ने परम्परा छ ।

नेपाली समाजमा पछिल्लो समयमा दशैलाई आफ्नो क्षमता भन्दा धेरै तडकभडक गर्ने भएकाले यसमा विसंगती भरिदै गएको छ ।  

२०७९ असोज १३ १२:२८ बजे

प्रतिक्रिया