भाकपा (माले) रेड स्टारको बाह्रौं राष्ट्रिय सम्मेलन भारतको केरेलामा सम्पन्न

सन्त बहादुर नेपालीको शुभकामना मन्तव्य

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ १९:२९ बजे
भाकपा(माले) रेड स्टारको १२औ सम्मेलनको उद्धाटन मञ्च

 केरेला, भारत ।  भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) रेड स्टारको बाह्रौं राष्ट्रिय सम्मेलन केरलाको कोजिकोड सहरमा सम्पन्न भएको छ । सेप्टेम्बर २५–२९,२०२२ (२०७९ असोज ९) मा पार्टीका महासचिव के.एन. रामचन्द्रनले एक समारोहका बीच बाह्रौं राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै महासचिव रामचन्द्रनले आर.एस.एस, विजेपी नवफासीवादी शासनको विरुद्धमा भारतका सम्पूर्ण लोकतान्त्रिक र फासिवाद विरोधी शक्तिहरू एक हुनुपर्ने आवश्यकतामा जोड  दिए । उनले अगाडि थपे–“क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले फासिवाद विरुद्धको आन्दोलन संगठित गर्नुपर्दछ र वामपन्थी राजनीतिक शक्तिहरूलाई बलियो बनाउनु पर्दछ । जात प्रथा, पुरुष प्रधान प्रथा हटाउन र वैकल्पिक दृष्टिकोण निर्माण गर्न, लिंगिय एकता कायम गर्न, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिको निर्माण गर्दै समाजवादको बाटोमा अगाडि बढ्न कम्युनिस्ट शक्तिहरू सफल हुन्छन् ।”

स्वागत कमिटीका अध्यक्ष डा. के.एन. अजय कुमारको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक  सन्तबहादुर नेपाली, जर्मन कम्युनिस्ट पार्टी (एम.एल.पी.डी) का प्रतिनिधि  पिटर, बंगलादेश कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य अनवर हुसेन, नेपाली देशभक्त जनतान्त्रिक मोर्चाका सचिव पवन श्रेष्ठ, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी (एकीकृत)ं  महासचिव अशोक ओमकार, भारतीय क्रान्तिकारी माक्र्सवादी पार्टीका केन्द्रीय सदस्य के.एस.हरिहरण, भारतीय कम्युनिस्ट पार्टी (माले) जनशक्तिका नेता नुरश्रीधर, भारतीय कम्युनिस्ट पार्टी (माले) प्रजापन्थका नेता गंगाराव, भाकपा (माले) रेड स्टारका पिविएम डा. पि.जे. जेम्स र टुहिन,रेड स्टारका अन्तर्राष्ट्रिय प्रतिनिधि संजय सिङघवी लगायतले उद्घाटन सत्रमा मन्तव्य राखेका थिए । अन्तर्राष्ट्रिय संगठन “आइकोर” का सदस्यहरु तथा हल्याण्ड, श्रीलंका, टर्की र इरानका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले बाह्रौं सम्मेलन सफलताको शुभकामना सन्देश पठाएका थिए । शुभकामना सन्देशहरुलाई उद्घाटन शत्रमा बाचन गरिएको थियो । २५ सेप्टेम्बरबाट शुरु भएको सम्मेलन २९ सेप्टेम्बरसम्म चल्ने छ । सम्मेलनले नयाँ केन्द्रीय कमिटी, कन्ट्रोलन कमिसन निर्वाचित गर्नुका साथै राजनीतिक दस्तावेज, विधान संशोन प्रस्ताव र संगठनात्मक प्रतिवेदन पारित गर्नेछ ।

सन्त बहादुर नेपालीको शुभकामना मन्तव्य
 उनले कार्यक्रममा भने , ुभारतीय कम्युनिष्ट पार्टी (माले) रेड स्टारको बाह्रौं महाधिवेशनको उद्घाटन सत्रका अध्यक्ष कामरेड, यस बाह्रौं महाधिवेशनमा भारतका विभिन्न भागबाट आउनु भएका आदरणीय नेता, प्रतिनिधि, पर्यवेक्षक, अतिथि, दर्शक र स्वयंसेवक सबैमा म नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु । भारतीय कम्युनिस्ट पार्टी (माले) रेड स्टार र हाम्रो पार्टी नेकपा (मसाल) धेरै पहिलेदेखिका भाइचारा पार्टीहरु हुन् । हाम्रो उद्देश्य एउटै हो नेपाल र भारतका सर्वहारा वर्गको मुक्ति का लागी काम गर्नु। कामरेडहरुलाई थाहा नै छ कि १८१६ मा नेपाल र ब्रिटिश शासनका बीचमा सुगौली सन्धि भएदेखि नेपाल एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक रहँदै आएको छ । त्यसभन्दा पहिले नेपाल एउटा स्वाधीन मुलुक थियो । सुगौली सन्धि पछि नेपाल विस्तारै ब्रिटिशको अर्धउपनिवेश बनेको थियो तर भारत जस्तो पूर्ण उपनिवेश चाहि भएन । २०६३ सालमा महान जनआन्दोलनबाट नेपालको राजतन्त्र सत्ताबाट फ्याँकियो । त्यसरी लोकतान्त्रिक प्रकारको सरकार गठन भएको थियो । पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन । तर दोस्रो संविधानसभा नयाँ संविधान निर्माण गर्न सफल भयो । संसारका सबै सरकारहरुले नयाँ संविधानलाई समर्थन गरेन । अहिले पनि त्यस विषयमा भारत मौन छ । किनभने भारतीय जनता पार्टी नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्न चाहन्छ ।

नेपालको तथाकथित लोकतान्त्रिक गणतान्त्रिक सरकार जनताले मन पराएको सरकार हुन सकेको छैन । यो सरकार दलाल पुँजीपति वर्गको सरकारमा रुपान्तरण भएको छ । अहिले राज्यसत्ता दलाल पुँजीपति वर्गले कब्जा गरेको छ । दोस्रो कुरा, नेपालले निजीकरण भूमण्डलीकरण र उदारीकरणको नीति लिएपछि नवउपनिवेशवादको प्रभाव उत्कर्षमा जाँदैछ । हामीलाई लाग्दछ कि भारत पनि नवउपनिवेशवादबाट शोषित छ । विशेषतः अमेरिकी र ब्रिटिश नवउपनिवेशवादी देशहरुबाट भारत उत्पीडित छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था दुवै देशको मिल्दोजुल्दो छ । तथापि, यो बेग्लै कुरा हो कि भारत एउटा विस्तारवादी मुलुक हो र नेपालभन्दा आकारमा २२ गुणा ठूलो छ । यसले आफ्ना साना छिमेकी देशहरुलाई गाभ्न चाहन्छ । तर दुवै देशका जनताहरु आपसमा निकटतम् मित्रहरु हुन् । दुवै देशका दलाल पुँजीवादी सरकारहरु नेपाली र भारतीय जनताका वर्ग दुश्मनहरु हुन् । त्यसैगरी विश्व साम्राज्यवाद, विशेषगरी अमेरिकी साम्राज्यवाद र युरोपियन साम्राज्यवादले दुवै देशमाथि शोषण गरिरहेका छन् । एकातर्फ अर्धसामन्ती शोषण र अर्कोतर्फ नव उपनिवेशवादी शोषण जनतामाथि लादिएको छ । यस अवस्थामा नयाँ जनवादी वा समाजवादी क्रान्ति आवश्यकता बन्न गएको छ । सर्वहारा अधिनायकत्वको शासन अन्तर्गत जनताहरुले सबै खाले शोषणहरुबाट मुक्ति पाउने छन् र तिनीहरुले आफ्नो राष्ट्र जोगाउने छन् । हामीलाई आशा छ कि आपसी सहकार्य र समन्वयबाट यी दायित्वहरुलाई हामीले पूरा गर्न सक्नेछौं । 

कम्युनिस्ट आन्दोलनमा थुप्रै चुनौती र सम्भावनाहरु छन् । संशोधनवादी र प्रतिक्रियावादी, दुवै शक्तिहरू कम्युनिस्ट आन्दोलनको विरुद्धमा छन् । यसप्रकारको गम्भीर परिस्थितिमा,हामीले निकै होसियारीपूर्वक रणनीति र कार्यनीति प्रयोग गर्नुपर्दछ । क्रान्तिकारी विचार, आदर्श र वर्गसंघर्षको रक्षा सबै क्रान्तिकारी कम्युनिस्टहरुको मुख्य दायित्व हो । हाम्रो आ–आफ्नो देशमा वर्ग संघर्षलाई अगाडि बढाऔं र एकआपसमा क्रान्तिकारी विचारहरुको सहकार्य र आदानप्रदान गरौं । म फेरि तपाईहरुको बाह्रौं महाधिवेशनको भव्य सफलताको शुभकामना ।ु मोहनविक्रम समुहका राजेश वि.क. लाइ सन्चालकले पटक(पटक मञ्चमा बोलाउदा पनि नगइ मञ्च बहिस्कार गरेको बताइन्छ।
 

२०७९ असोज १२ १९:२९ बजे

प्रतिक्रिया