रुसी विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १७ जनाको मृत्यु

को हुन् आक्रमणकारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १२:५९ बजे
रुसी विद्यालयमा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं । मध्य रुसस्थित एउटा विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले जनाएका छन्। उक्त घटनामा थप २४ जना घाइते भएका छन्।

मृतकमध्ये ११ जना बालबालिका छन्। उक्त घातक घटना इज्भेभ्स्क सहरमा भएको हो। आक्रमणकारी उक्त विद्यालयका पूर्वविद्यार्थी भएको र उनले घटनास्थलमै आत्महत्या गरेको जनाइएको छ। रुसी सञ्चारमाध्यमले विद्यालयमा आक्रमण हुँदा आत्तिएका विद्यार्थीहरू कक्षाकोठाबाट भागेको जस्तो देखिने भिडिओ सार्वजनिक गरेका छन्।

केही भिडिओमा विद्यार्थीहरू डेस्कमुनि लुकेर बसेको तथा कक्षाकोठाको भुइँमा रगत र झ्यालमा गोलीले पारेको प्वाल देखिन्छ। मृतकमध्ये केही शिक्षक र विद्यालयका सुरक्षाकर्मी पनि छन्। घाइतेमध्ये अधिकांश विद्यार्थी छन्। उक्त विद्यालयमा झन्डै १,००० विद्यार्थी अध्ययन गर्छन्। घटनापछि विद्यालयबाट सबै कर्मचारी र विद्यार्थीलाई बाहिर निकालिएको थियो।

को हुन् आक्रमणकारी ?
चौतीस वर्षीय आक्रमणकारीको नाम आर्टिम काजान्स्तेफ भएको बताइएको छ। उनले सोही विद्यालयमा पढेका थिए। उनीसँग दुईवटा पेस्तोल भएको बताइएको छ। एउटा सरकारी निकायले अनलाइनमा पोस्ट गरेको भिडिओमा ती आक्रमणकारीक शव भुइँमा देखिन्छ। उनले नाजीको प्रतीक देखिने टीशर्ट र मुखुन्डो लगाएको देखिन्छ।

अनुसन्धानकर्ताहरूले उनको निवासमा खानतलासी गरेका छन्। स्थानीय प्रशासकले सेप्टेम्बर २९ सम्म शोक मनाइने घोषणा गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त घटनालाई 'आतङ्कवादी आक्रमण' भन्दै त्यसको निन्दा गरेका छन्।बीबीसी

२०७९ असोज ११ १२:५९ बजे

प्रतिक्रिया