मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्षको प्रस्ताव

स्थानीय चुनावमा विवेकशील साझाले जित हासिल गर्न नसकेपछि अध्यक्षबाट राजीनामा दिएका मिश्र राप्रपासँग सहकार्यमा लागेका थिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १४:१८ बजे
रवीन्द्र मिश्र

 काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले राप्रपामा  वरिष्ठ उपाध्यक्ष  पाउने सम्भावना बढेर गएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्।

स्थानीय चुनावमा विवेकशील साझाले जित हासिल गर्न नसकेपछि अध्यक्षबाट राजीनामा दिएका मिश्र राप्रपासँग सहकार्यमा लागेका थिए। उनले पार्टी एकीकरणको प्रस्ताव समेत गरेका थिए।राप्रपामा मिश्रलाई पछिल्लो समय उपाध्यक्ष दिने विषयमा छलफल चलिरहेको थियो। राप्रपामा ६ जना उपाध्यक्ष छन्।

राप्रपाको असोज ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भने अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्। अध्यक्ष केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा रवीन्द्र मिश्रजीलाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेको स्रोतले बताएको छ ।  त्यसमा मिश्र पनि सहमत हुने लिङ्देनको विश्वास रहेको छ ।  मिश्रले फेरि काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

उनी  २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतले पराजित भएका थिए। सिंहले १० हजार ९३६ र मिश्रले १० हजार ११८ मत पाएका थिए।मिश्र राप्रपामा प्रवेश गरेपछि त्यही क्षेत्रबाट उम्मेदवार बनाउने तयारी छ।

२०७९ असोज ७ १४:१८ बजे

प्रतिक्रिया