राष्ट्रपतिको अपमान गरेको भन्दै गठबन्धनलाई ओलीले दिए यस्तो जवाफ

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठान्याे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १४:०२ बजे
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्  । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । 

 ओलीले भने , ‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’ 

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’ 

एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको भन्दै उनले त्यतिखेर नै सरकारले संविधानको पालना गर्नुपर्ने सुझाव दिएको बताए । सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ओलीले तर, गठबन्धनले संविधानको धारा १८१ एकपटक पालना नगरेको आरोप लगाए । 

बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका ओलीले ६ महिनासम्म प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएर राखेको टिप्पणी गरे । ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप राखिन्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘१ फागुनमा दर्ता भएको महाअभियोग प्रस्ताव १ भदौसम्म बाहिर निकालिएन ?’ ।  यता सत्तारुढ दलका विद्यार्थि संगठनहरुले भने  आज पनि राष्ट्रपतिके विरोध जनाई रहेका छन् । सरकारमै रहेको दल राष्ट्रिय जनमोर्चाले भने राष्ट्रपतिको कदमको सम्मान गरेको छ ।

२०७९ असोज ६ १४:०२ बजे

प्रतिक्रिया