नेपाल आउछु भनेका सन्दीप सम्पर्कविहीन

नेपाल आउछु भनेका सन्दीप सम्पर्कविहीन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १३:३४ बजे
सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आइतबारदेखि सम्पर्कविहीन भएका छन् । बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर लामिछानेले आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका थिए ।

उनले नेपाल आउन लागेको  बताए पनि  हालसम्म नेपाल आइपुगेका छैनन् । आइतबारदेखि सन्दीपको क्यानसँग पनि कुनै सम्पर्क भएको छैन् ।  उनी कहाँ छन् रु यसबारे  प्रहरीलाई पनि केही थाहा छैन् ।  सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेको  बताएका थिए । 

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । 

गौशालास्थित एक होटलमा लगेर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा बताएकी छन्। उक्त उजुरीपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत  काठमाडौंले गत बिहीबार नै पक्राउ अनुमति दिइसकेको छ । अदालतसँग पक्राउ पूर्जी लिई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा पक्राउ आदेश पठाएको छ ।

अदालतले पक्राउ गर्न आदेश दिएपछि क्यानले सोही दिन उनलाई क्याप्टेनबाट निलम्बन गरेको हो । निलम्बनमा परेपछि सन्दीपले सेन्ट लुसियामा प्रिमियर लिग खेलेनन्। गत शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको बताएका थिए । उनले नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने  बताएका थिए । 

 उनले फेसबुकमा ‘म निर्दोष छु र नेपालको सम्माननीय कानुनमा पूर्ण विश्वस्त छु । मैले सीपीएल नखेल्ने निर्णय लिएको छु र केही दिनमा स्वदेश फर्किन्छु’ लेखेका थिए । आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका छन्।

क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए । उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल आइपुगेका छैनन् । हाल आफ्नो सम्पर्कमा समेत सन्दीप नरहेको क्यानले  बताएको छ । 

२०७९ भदौ २८ १३:३४ बजे

प्रतिक्रिया