वालेनको भारत भ्रमणमा देशहितविपरीत सम्झौता भयो : नेता रावल
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ताको स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने विगतको प्रवृत्ति फेरि दोहोरिएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक अन्तर्वार्तामा बोल्दै रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको आरोप लगाए। सत्ताको स्वार्थका लागि विदेशीसामु झुक्ने प्रवृत्ति विगतमा जस्तै फेरि देखिएको उनको भनाइ थियो।
उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी १९५० को सन्धिसँग सम्बन्धित प्रावधान पुनर्जीवित गरिएको आरोप लगाए। यस विषयमा उनले सरकार तथा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग गरे।
रावलका अनुसार प्रधानमन्त्रीले भारतको सुरक्षा निकायलाई तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी सम्झौता गरेका छन्।
नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने उनको जिकिर थियो। भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै उनले सरकारको आलोचना पनि गरे।
साथै, दुई जना पूर्व श्रममन्त्रीको गिरफ्तारीको प्रसंगमा रास्वपाका नेता पनि जोडिएका भए पनि उनीहरूमाथि किन कानुन लागू भएन भन्दै रावलले प्रश्न उठाए।
सुशासनका लागि कानुनको पालना गर्ने, विधिअनुसार चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको हो भन्ने उनको भनाइ छ।
प्रतिक्रिया