दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको तयारी तीव्र पारिएको जनाउँदै अब राष्ट्रिय खेलकुद नियमित आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले एनपीएलले नेपाली खेलकुदमा जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदलाई भव्य बनाउने तयारी भइरहेको बताएका छन् ।
उनका अनुसार दशौँ राष्ट्रिय खेलकुदका मुख्य प्रतियोगिता मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । मन्त्री पोखरेलले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको बताएका छन् ।
विगतमा देखिएको प्रतियोगिता आयोजनाको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै अब नियमित रूपमा राष्ट्रिय खेलकुद आयोजना गर्ने उनको प्रतिबद्धता छ । नेपाली खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन खेलाडी, खेलप्रेमी तथा सरोकारवालासँग साथ र सहकार्यको अपेक्षा गरेका छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्ने पनि मन्त्री पोखरेलले बताएका छन् ।
प्रतिक्रिया