प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध प्रदर्शन
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा भेला भएका अभियानका सदस्यहरूले ज्वागलसम्म मार्च गर्दै सरकारसँग जवाफदेहिता माग गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘इनमको फोनको लोकेसनः ज्वागल ललितपुर’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, रास्वपा चुप लाग्छ’, ‘रास्वपा सरकार के भन्छ, कुशासनलाई बचाउ भन्छ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी जेन–जी अभियन्ता जश्मिन ओझाले आफूहरू कुनै व्यक्ति विशेषको विरोधमा नभई राज्यका संस्थागत संरचनामा पारदर्शिता र जवाफदेहिता खोज्न सडकमा आएको बताए ।
उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको घटनाबारे प्रश्न उठाउँदै या त समाचार सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि कारबाही हुनुपर्ने वा घटनामा नाम जोडिएका व्यक्तिमाथि आवश्यक कारबाही हुनुपर्ने माग गरे ।
उनले भने, ‘हामी कसैका विरुद्ध आएका होइनौँ । बालेन दाइ हाम्रो पनि दाइ हो । बहिनीको रूपमा दाइलाई हाम्रो देशमा सुशासन र पारदर्शिता चाहिएको छ भन्न आएका हौँ ।’
ओझाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको नाम विवादमा जोडिँदा पनि राज्य मौन बस्नु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताए । उजले कुनै व्यक्तिभन्दा पनि संस्थागत जवाफदेहिताका लागि प्रश्न उठाइएको स्पष्ट पारे ।
भोलि जिम्मेवार पदमा जोसुकै व्यक्ति आए पनि गलत काम गरेको अवस्थामा प्रश्न उठाइने उनको भनाइ छ । उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि माइतीघरदेखि ज्वागलसम्म मार्च गरिएको बताउँदै राज्यका जिम्मेवार निकायले उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे ।
प्रतिक्रिया