देउवा समूहको प्रदेश अधिवेशन सर्यो

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १ १६:०६ बजे

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन ढिला गरी सुरु हुने भएको छ ।  मङ्सिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन हरिबोधनी एकादशीका कारण मङ्सिर ५ गतेदेखि सुरु हुने भएको हो ।

धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको सचिवालयले जनाएको छ । मङ्सिर ५ गते गण्डकी प्रदेश, मङ्सिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ । सबै प्रदेश अधिवेशनमा शेरबहादुर देउवा सहभागी हुने छन् ।

देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २००, जनसम्पर्क समितिबाट २०० तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने देउवा पक्षको दाबी रहेको छ ।

देउवा पक्षले असोज १५ गतेदेखि महाधिवेशनको कार्यक्रम सुरु गरेको थियो । हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।

२०८३ मंसिर १ १६:०६ बजे

प्रतिक्रिया