नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २८ १७:०४ बजे

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक थारुविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । उनले निम्न माध्यमिक तहको गणित विषयको राहत शिक्षक पदमा नियुक्ति लिन भारतको बिहार विद्यालय परीक्षा बोर्डबाट जारी भएको भनिएको आईएससी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

थारुले उक्त प्रमाणपत्र पेस गरी २०६३ असार १५ गतेदेखि शिक्षक पदमा नियुक्ति लिएको आयोगको दाबी छ। नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजायको मागदाबी गरिएको छ ।

आयोगले उक्त कसुरमा कानुनबमोजिम सजाय हुन माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।


२०८३ कात्तिक २८ १७:०४ बजे

प्रतिक्रिया