प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २३ १४:५३ बजे

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गरे । उनले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उनले उच्च प्रशंसा गरे ।

प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिए । नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हासिल गरेको उनको भनाइ छ ।

कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । उनका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन् ।

कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्यसम्पादनमा कुकुरले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए । 

२०८३ कात्तिक २३ १४:५३ बजे

प्रतिक्रिया