काठमाडौं । झापा मूल घर भएका करिब ३०-३१ वर्षीय युवा इनम (ईनमरइमान) सापकोटा एक महिनाअघिसम्म सार्वजनिक रूपमा लगभग अज्ञात थिए । तर,अहिले उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सर्वोच्च अदालतका न्यायाधीशहरू, उच्च सुरक्षा अधिकारी, थुनामा रहेका व्यापारी र राजनीतिक पहुँच भएका व्यक्तिहरूसँग जोडिएर चर्चामा आएका छन् ।
प्रहरी अनुसन्धानअनुसार सापकोटा बिचौलियाका रूपमा सक्रिय थिए । उनीसँग पूर्वप्रधानन्यायाधीश जबरासहित वर्तमान र पूर्व प्रहरी अधिकारी, न्यायाधीश, राजनीतिज्ञ, वकिल र व्यवसायीहरूसँग नियमित फोन र व्हाट्सएप सम्पर्क देखिएको छ ।
प्रहरीले एसपी नरहरि रेग्मीको नेतृत्वमा छुट्टै टोली बनाएर उनको मोबाइलमा देखिएका सम्पर्क, पैसाको स्रोत र गन्तव्य तथा सम्पत्ति जोडिएका विषयमा अनुसन्धान गरिरहेको छ । उनी नेपाल राष्ट्र बैङ्क ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि छानबिनमा छन् ।
सापकोटाको नाम जबराको मोबाइल जाँचबाट बाहिर आएको हो । असोज २ मा सुरक्षा खतराको नाममा जबरा महाराजगञ्जबाट उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका थिए । त्यहाँ उनको मोबाइल जाँच्दा सापकोटासँग बारम्बार सम्पर्क भएको पाइयो । त्यसपछि प्रहरीको ध्यान सापकोटातर्फ गयो ।
असोज १४ मा उनी नयाँ दिल्ली उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला सादा पोसाकका प्रहरीले पक्राउ गरे । सुरुमा अशोभनीय व्यवहारको आरोपमा हिरासतमा राखिए पनि पछि अनुसन्धान विस्तार भयो । सापकोटा झापाका हुन् । परिवार बुढानीलकण्ठमा बस्छ भने उनी पानीपोखरीको अपार्टमेन्टमा बस्थे ।
प्रहरीले अपार्टमेन्टबाट कागजात र डिजिटल सामग्री बरामद गरेको छ । उनी अमेरिका ग्रीन कार्ड होल्डर भएको र जलवायु परिवर्तनमा पीएचडी गरेको दाबी गरिन्छ । अनुसन्धान अधिकारीका अनुसार उनी कहिले दूतावासका डाक्टर, कहिले प्रधानमन्त्रीका मान्छे, कहिले प्रहरी उच्च अधिकारी वा न्यायाधीश नजिकका व्यक्ति भनी चिनाउने गर्थे ।
जबरासँगको चिनजान उनका छोरा सचिन्द्रशमशेर जबरासँग लिटल एन्जेल्स स्कुलमा पढ्दाको सम्बन्धबाट सुरु भएको सापकोटाको बयान छ । पछि परिवारका अन्य सदस्यसँग पनि चिनजान बढ्यो । उनको मोबाइलबाट थुनामा रहेका व्यवसायी दीपक भट्ट, लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट (दीपकका दाजु) र सुलभ अग्रवाल समूहसँगको सम्पर्क पनि खुलेको छ ।
सुशील भट्टलाई पनि पक्राउ गरिएको छ । यससँग सम्बन्धित सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल (जबराका नातेदार) लाई पनि संवेदनशील सूचना चुहाएको आरोपमा छानबिन गरी पदबाट हटाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग रोहित गुप्ताको मुद्दाबारे व्हाट्सएप संवाद सार्वजनिक भएको छ, जसमा सापकोटाले प्रधानमन्त्रीको चासोसमेत देखाउँदै निर्णय एक पक्षमा गराउने प्रयास गरेको आरोप छ ।
फुयालले भने संवादको पूर्ण सन्दर्भ नभएको बताएका छन् । सापकोटाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चले खारेज गरिसकेको छ र उनी अहिले पनि हिरासतमा छन् । यो प्रकरणले न्यायपालिका, सुरक्षा निकाय र राजनीतिक वृत्तमा समेत तरङ्ग ल्याएको छ । अनुसन्धान जारी छ ।
प्रतिक्रिया