देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनू : ओली

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १२ १९:०० बजे

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै यसको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछाडि हटे देशको रक्षा गर्न नसकिने दाबी गरे ।

“देश क्रिटिकल अवस्थामा छ। यस्तो स्थितिबाट हामीले नै देशलाई पार लगाउनुपर्छ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ। आन्दोलन शब्द सुन्नै नहुने मानसिकता बनाउनु हुँदैन । आन्दोलनले नै शक्ति आर्जन गर्ने हो,” ओलीले भने, “यति असहज र अप्ठ्यारो परिस्थितिमा आन्दोलनबाहेक अन्य बाटो रोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले नै पार्टीलाई टिकाउने, अघि बढाउने र जिताउने हो ।”

अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नारा दिएर जनतालाई धोका दिइरहेको आरोप लगाए। वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे ।

“दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्ति भनेर घाँटीका नसा फुल्ने गरी कराउँछन् र दुनियाँलाई धोका दिन्छन् । तर व्यवहार भने मान्छे मराउने षड्यन्त्रको गर्छन् । त्यसैलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, कुटपिट गर्ने र आतङ्क फैलाउने षड्यन्त्र भइरहेको छ,” उनले थपे, “कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतङ्कको राज सिर्जना गरिएको छ । बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी ! के पुलिससँग ड्रेस छैनरु बर्दी नलगाई जाने पुलिस गुण्डा हो र? बिनाबर्दी जाने, बलजफ्ती ढोका फोरेर भित्र पस्ने काम भइरहेको छ ।”

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको टिप्पणी गर्दै सिंगो राज्य नै नागरिक स्वतन्त्रता प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको दाबी गरे । उनले चाडपर्व (तिहार तथा छठ) लत्तै वा जुनसुकै समयमा हुन सक्ने आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता(कार्यकर्ताहरूलाई निर्देशन दिए ।

“राज्य फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा हामीले आन्दोलनकारी ढङ्गले अघि बढ्नुको विकल्प छैन,” ओलीले निर्देशन दिँदै भने, “अहिले होस् वा तिहार/छठपछि, हामी भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ । आगामी निर्वाचनमा एमालेलाई घेराबन्दी गरेर हराउन खोज्नेहरूको सपनालाई दिवास्वप्नमा परिणत गरिदिनुपर्छ ।”

२०८३ कात्तिक १२ १९:०० बजे

प्रतिक्रिया