लुम्बिनीका सभामुखसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १२ ०८:२९ बजे

काठमाडौं । जनता समाजवादी पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेकी छन् । आफूलाई सांसद पदबाट हटाउन प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै काफ्लेले मंगलबार दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

काफ्लेले दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगरसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन् ।

सांसद पदबाट हटाउन प्रयोग गरिएको पत्र पार्टीको आधिकारिक निर्णय र अधिकारप्राप्त पदाधिकारीको अनुमतिबिना तयार पारिएको काफ्लेको दाबी छ । आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामासमेत नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी हुन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोप लागेपछि काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । जसपा नेपाल संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

पदमुक्त गर्ने निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि पदमुक्तिसम्बन्धी निर्णय कार्यान्वयनमा रोक लागे पनि त्यसका लागि प्रयोग गरिएको पत्रको आधिकारिकतामाथिको विवाद भने कायम छ ।

२०८३ कात्तिक १२ ०८:२९ बजे

प्रतिक्रिया