काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई कानुनी कारबाहीको चेतावनी दिएका छन् ।
एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पु¥याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका हुन् ।
सोमबार धनुषामा आयोजिक एक कार्यक्रममा सभापति यादवले एक नम्बरको भ्रष्टाचारी, घुसखोरी र दलाल भन्दै एसपी खड्काको आलोचना गरेका थिए । एसपी खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै नत्र कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
एसपी खड्काले जारी गरेको विज्ञप्तिअनुसार यादवले गत भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
तर, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौँ जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको थियो ।
तर, यादवले महिलाको मञ्जुरीबिना विवाह भएको भन्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन प्रहरीमाथि दबाब दिएका थिए । मागअनुसार काम नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत उनले दिएको विज्ञप्तिमा दावी गरिएको छ ।
‘गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप मविरुद्ध अनर्गल र तथ्यहीन आरोप लगाइएको स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मेरो व्यक्तिगत मर्यादामा आँच आउनेगरी आपत्तिजनक मनगढन्ते र द्वेषपूर्ण आरोपहरू लगाई निजले गरेको तुच्छ टिप्पणीप्रति घोर भत्र्सना गर्दछु।’

प्रतिक्रिया