‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पछि धकेलियो: ओली

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २९ १८:३४ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा(एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्विकार्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गरे । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अघि सारिएका सामाजिक क्षेत्रका सुधारलाई समाजवादउन्मुख कदमको संज्ञा दिए ।

सडक बालबालिकामुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उनले सरकारको ‘जिम्मेवार’ व्यवहारको उपजका रूपमा व्याख्या गरे । उनले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गरे ।

अध्यक्ष ओलीले भने, ‘हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ । हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ ।’

समृद्धिको यात्राबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउन पहिले दुःख निवारण गर्नुपर्ने बताए ।

२०८३ असोज २९ १८:३४ बजे

प्रतिक्रिया