काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेर ८३ खर्ब ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको छ ।
२०८३ भदौ मसान्तमा वाणिज्य बैङ्कहरूको औसत आधार दर ४.७० प्रतिशत रहेको छ। विकास बैङ्कहरूको औसत आधार दर ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी दर क्रमशः ५.७२, ८.०९ र ८.७७ प्रतिशत थिए ।
भदौ मसान्तमा वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.६६ प्रतिशत थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ३ खर्ब १९ अर्ब ४० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाबीच २० अर्ब १७ करोड रुपैयाँ गरी कुल ३ खर्ब ३९ अर्ब ५७ करोड रुपैयाँ बराबरको अन्तर बैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
भदौमा मोबाइल बैङ्किङमार्फत ८ करोड ११ लाख ९४ हजार कारोबारबाट ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८१ हजार कारोबारबाट १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८० हजार कारोबारमार्फत ७४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जको नेप्से सूचकाङ्क २०८२ भदौ मसान्तको २ हजार ६७२.२५ बाट घटेर २०८३ भदौ मसान्तमा २ हजार ६१२.४३ कायम भएको छ ।
समीक्षा अवधिमा धितोपत्र बजारको पुँजीकरण ४४ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको भदौ मसान्तमा बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ थियो । कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात ६८.१३ प्रतिशत रहेको छ ।
भदौ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या ३०५ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १३३ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, नौ होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १२ अर्ब ३ करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा धितोपत्र बोर्डले कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका म्युचुअल फन्ड, ऋणपत्र तथा साधारण सेयर सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया