सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ गरिएको हो । प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो भने कारका चालक फरार भएका थिए । सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया