मानवताका पक्षमा उभिएको एउटा कलाकार नाना पाटेकर रहेनन

क्रान्तिवीर’लाई सम्झिँदा एउटा विद्रोही चेतना बोकेको पात्र सम्झिन्छु। अन्याय देखेर चुप बस्न नसक्ने मानिस, व्यवस्थासँग प्रश्न गर्ने मानिस र आफ्नो वरिपरिको यथार्थसँग भिड्ने मानिस। नाना पाटेकरको अभिनयको शक्ति यही थियो,उनले पात्रलाई सजाएनन्, पात्रको भित्रको पीडा र आक्रोशलाई बाहिर ल्याए।

bimbonline लक्ष्मण उप्रेती
२०८३ असोज २२ १९:३२ बजे
नानापाटेकर

भारतीय चलचित्रले एउटा असाधारण कलाकार गुमाएको छ। तर उनलाई सम्झिँदा मलाई उनको अभिनयभन्दा बढी उनले रोजेको पक्ष सम्झन मन लाग्छ,मान्छेको पक्ष, किसानको पक्ष र दुःखमा परेकाहरूको पक्ष।

नाना पाटेकर पर्दामा आउँदा उनी अरू कलाकार जस्तो लाग्दैनथे। उनको आवाजमा एउटा छुट्टै खस्रोपन थियो, आँखामा आक्रोश थियो र अभिनयमा जीवनको कठोरता थियो। ‘क्रान्तिवीर’, ‘परिन्दा’, ‘प्रहार’, ‘सलाम बम्बे’ र ‘नटसम्राट’जस्ता चलचित्रमा उनले खेलेका पात्रहरू मनोरञ्जनका पात्र मात्र थिएनन्। ती पात्रभित्र समाजका अनेक उत्पीडित बोलिरहेका थिए।

विशेषगरी ‘क्रान्तिवीर’लाई सम्झिँदा एउटा विद्रोही चेतना बोकेको पात्र सम्झिन्छु। अन्याय देखेर चुप बस्न नसक्ने मानिस, व्यवस्थासँग प्रश्न गर्ने मानिस र आफ्नो वरिपरिको यथार्थसँग भिड्ने मानिस। नाना पाटेकरको अभिनयको शक्ति यही थियो,उनले पात्रलाई सजाएनन्, पात्रको भित्रको पीडा र आक्रोशलाई बाहिर ल्याए।

तर उनको जीवनको अझ महत्वपूर्ण पक्ष पर्दाबाहिर थियो।

महाराष्ट्रका किसानहरू खडेरी, पानीको अभाव, ऋण र आत्महत्याको पीडामा परिरहेका बेला नाना पाटेकर किसानका बीचमा पुगे। सुरुमा आत्महत्या गरेका किसानका परिवारलाई सहयोग गरे। पछि मकरन्द अनासपुरेसँग मिलेर सन् २०१५ मा नाम फाउन्डेसन स्थापना गरे। त्यसपछि उनको सामाजिक काम राहत बाँड्ने कुरामा मात्र सीमित रहेन। पानी, खेती, गाउँ र किसानको जीवनसँग जोडिएका दीर्घकालीन कामतिर अघि बढ्यो।यो कुरा महत्वपूर्ण छ।किसानको दुःखमा बोल्नु एउटा कुरा हो, किसानको खेतमा पानी पुर्‍याउने काम गर्नु अर्को कुरा हो।

नाम फाउन्डेसनले महाराष्ट्रका खडेरीग्रस्त क्षेत्रमा पानी संरक्षण, नदी–नाला पुनर्जीवन, जलाशय तथा ट्यांकीको सुधार, भूमिगत पानी पुनर्भरण र ग्रामीण विकासका काम गरेको छ। संस्थाका आफ्नै तथ्यांकअनुसार उसका विभिन्न कार्यक्रमबाट ७७ लाख १७ हजारभन्दा बढी किसान लाभान्वित भएका छन्। यो नाना पाटेकरले व्यक्तिगत रूपमा सहयोग गरेका किसानको संख्या होइन, नाम फाउन्डेसनका विभिन्न कार्यक्रमबाट लाभान्वित किसानको संस्थागत तथ्यांक हो।

किसान आत्महत्याबाट प्रभावित परिवारलाई सहयोग गर्नु, विधवा परिवार र बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्‍याउनु पनि संस्थाको कामको हिस्सा बनेको छ। त्यसैले उनको सामाजिक योगदानलाई ‘अभिनेताको समाजसेवा’ भनेर दुई शब्दमा टुंग्याउनु मात्र पर्याप्त हुँदैन।मलाई उनको जीवनको यो पक्ष बढी अर्थपूर्ण लाग्छ।

मान्छेको दुःख देखेर दुःखी हुनु सजिलो छ, त्यो दुःख कम गर्न केही गर्नु कठिन छ।नाना पाटेकरले आफ्नो ठाउँबाट त्यो कठिन काम रोजे। उनी किसानको बीचमा गए। खेतीसँग जोडिए। माटोसँग सम्बन्ध राखे। आफूले कमाएको लोकप्रियता र प्रभावलाई केही हदसम्म त्यही समाजमा फर्काउने प्रयास गरे, जहाँबाट उनको लोकप्रियता आएको थियो।

आज हामीकहाँ पनि किसानको अवस्था फरक छैन। अन्न उत्पादन गर्ने किसान नै असुरक्षित छ। श्रम गर्ने मानिस नै आफ्नो श्रमको मूल्य खोज्दै हिँड्नुपर्छ। गाउँबाट उत्पादन शहरतिर आउँछ, तर गाउँ आफैँ अभावमा बाँचिरहेको हुन्छ। यस्तो अवस्थामा नाना पाटेकरको जीवनको एउटा सानो तर महत्वपूर्ण शिक्षा छ,पीडितको पक्षमा हुनु भनेको उसको नाममा बोल्नु मात्र होइन, उसको जीवनसँग जोडिनु पनि हो।

नाना पाटेकर कुनै निर्दोष देवता थिएनन्। उनका आफ्ना कमजोरी र विवाद पनि थिए। त्यसैले उनलाई देवत्वकरण गर्नुपर्ने आवश्यकता छैन। मानिसलाई मानिसकै रूपमा हेर्नुपर्छ। तर उसको राम्रो कामलाई राम्रो भन्न पनि सक्नुपर्छ। उनको सबैभन्दा ठूलो कुरा शायद यही हो,उनले पर्दामा जसको पीडा खेले, पर्दाबाहिर पनि त्यही समाजको एउटा हिस्सासँग जोडिने प्रयास गरे।

कलाकारको जीवनबाट हामीले यही सिक्न सक्छौँ।

लोकप्रियता आफ्नो लागि मात्र होइन।प्रतिभा आफ्नो प्रदर्शनका लागि मात्र होइन।आवाज आफ्नो प्रशंसाका लागि मात्र होइन।समाजले दिएको पहिचानलाई समाजकै कुनै दुःखमा लगाउन सकिन्छ।नाना पाटेकरको चलचित्र हामीसँग रहिरहनेछ। उनका संवाद सम्झिइ रहनेछन्। उनका पात्रहरू फेरि–फेरि पर्दामा आउनेछन्। तर उनको सामाजिक जीवन सम्झँदा किसानको सुख्खा खेत, पानी खोजिरहेको गाउँ र दुःखमा परेको परिवार पनि सम्झनुपर्छ। त्यही नै उनको जीवनको अर्को पाटो हो।

नाना पाटेकरप्रति हार्दिक श्रद्धाञ्जली।

एउटा कलाकार गयो। तर उसले छोडेको अनगिन्ती सवाल बाँकी छ, हामीले पाएको जीवन, प्रतिभा र सामर्थ्य कसका लागि प्रयोग गर्नेरु नाना पाटेकरको जीवनले यसको एउटा महत्त्वपूर्ण उत्तर दिएको छ,त्यो हो।उत्पीडित मान्छेको पक्षमा उभिनु।हार्दिक श्रद्धाञ्जली नाना।


२०८३ असोज २२ १९:३२ बजे

प्रतिक्रिया