‘पोटेन्सियल’ अनुसार खेल्न सकेनौं, समर्थकको गाली स्वीकार्य छ : सन्दीप लामिछाने

‘पोटेन्सियल’ अनुसार खेल्न सकेनौं, समर्थकको गाली स्वीकार्य छ : सन्दीप लामिछाने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १७:१३ बजे
सन्दीप लामिछाने

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेलेको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  नेपाली टिमका कप्तान सन्दीप लामिछानेले नेपालले आफ्नो क्षमताअनुसार  खेल्न नसकेको बताएका छन् । 

उनले भने , 'हामीले  खेलेकै हो, म कुनै बहानाबाजी गर्न चाहन्नँ , तर यो टिमसँग धेरै पोटेन्सियल छ र धेरै राम्रो गर्न सकिन्छ । हामीले आफ्नो लेभलमा खेल्न सकेनौं ।’

उनले समर्थकहरुले गरेको नकारात्मक टिप्पणीलाई आफूले सहजताका साथ लिएको  बताएका छन् । उनले भने, 'हामीले राम्रो गर्दा ताली खान्छौं भने नराम्रो गर्दा गाली खान पनि तयार रहनुपर्छ । उहाँहरुसँग हामीलाई गाली गर्ने हक छ ।’

सन्दीपले अहिलेको खराब प्रदर्शनको दोष प्रशिक्षकलाई मात्रै दिन नहुने बताए । मैदानमा गएर खेलाडीहरुले खेल्ने भएकाले मुख्य जिम्मेवारी खेलाडीकै हुने  उनले बताएका छन् ।

उनले भने, ‘ब्याटिङको समस्या नेपालको पुरानै हो, कोचलाई मात्र दोष दिएर हुँदैन , नेपाललाई यहाँसम्म ल्याउनुमा उहाँको पनि ठूलो योगदान छ ।’

सन्दीपले नेपालको ओडीआई स्टाटस बचाउन र विश्वकपमा छनोट हुन मात्र नभएर नेपाली क्रिकेटलाई जोगानका लागि पनि आफूहरुले राम्रो प्रदर्शन गर्नुपर्ने सन्दीपले बताए ।टिममा धेरै युवा खेलाडीहरु रहेको भन्दै उनीहरुको क्षमतामा शंका नरहेको उल्लेख गरे ।

२०७९ साउन ३ १७:१३ बजे

प्रतिक्रिया