अन्तरजातिय प्रेम राख्ने श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहस्यमय मृत्यु

अन्तरजातीय प्रेम तथा विवाहको कारण नेपाली समाजमा पटकपटक व्यक्ति हत्या हुदै आएको तितो यथार्थमा रहेको छ।

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख १० १५:२७ बजे
श्रीकृष्ण विक

काठमाडौ । सिन्धुली जिल्लाको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको रहस्यमय मृत्यु भएको छ। बिकको मृत्युप्रति क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालकासंयोजक टेक बहादुर विश्वकर्माले २०८३ वैशाख १० गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै उक्त माग गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ३ जुमिडाँडा स्थायी घर भइ ललितपुर इमाडोल बस्ने २२ वर्षीय श्रीकृष्ण विकको गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको घटना प्रति क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

खोटाङ स्थायी घर भइ काठमाडौं बस्ने निर्जला मगरसँग भागी बिवाह गरेका श्रीकृष्णलाई जिल्ला प्रहरी कार्यालय ललितपुरले गत वैशाख ३ गते मिलापत्र गर्न बोलाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुली पठाएकोमा प्रहरीले जबरजस्ती करणी मु‌द्दामा लगाएर सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको अवस्थामा गत वैशाख ०७ गते साँझ ४ः०० बजे इलाका प्रहरी कार्यालय खुर्कोट स्थित हिरासतकक्षको शौचालयमा रहेको झ्यालमा सटको पासोमा श्रीकृष्णको ज्यान गएको भनिएको छ ।

जबरजस्ती करणी गरेको बयानमा सही छाप गर्न प्रहरीले मानसिक, शारिरिक दबाब र यातना दिएको भेट्‌न गएकाहरुलाई श्रीकृष्णले बताएको प्रेस विज्ञप्ति मार्फत मृतकको आमा विन्दामाया विकले जानकारी दिएकी छिन् । ‘मलाई तथा मेरा आफन्तहरूलाई मेरो छोरोको मृत्यु भएको स्थलसमेत हेर्न दिइएको छैन र म मेरो छोराको मृत्यु प्रहरीले भने जसरी भएको कुरा पत्याउन तयार छैन ।’ आमाले भनेकी छिन् ।

अन्तरजातीय प्रेम तथा विवाहको कारण नेपाली समाजमा पटकपटक व्यक्ति हत्या हुदै आएको तितो यथार्थमा ‘केटालाई कुनै मुद्दा चलाउने हो भने, आफु पनि चौकीमा नै बस्ने र जबरजस्ती गरेर नछुटाउन ’ भनी किशोरीले अनुरोध गर्दासमेत उमेर नपुगी भागी विवाह गरेको भए ‘बालबिवाह गरेको आरोप’ मा मुद्दा चलाउने र अनुसन्धान गर्दै अभियोगको सत्यमा पुग्ने विकल्प रहदा रहदै फरकफरक जातका बिच भएको भागी विवाहलाई जघन्य ‘जबरजस्ती करणी’ को मुद्दा चलाउन प्रहरीलाई के र कुन प्रभाव वा कारणले बाध्य गरायो ?

यो विषय निकै रहस्यमय बन्न पुगेको छ । २४ सै घण्टा पहरा रहने प्रहरी हिरासतमा थुनुवाको मृत्यु हुनु अत्यन्त संवेदनशील र चिन्ताजनक विषय हो । अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन भन्ने सर्वमान्य कानुनी सिद्धान्त, कानुनतः प्राप्त मानव अधिकार र कानुनी संरक्षणको हक प्रतिकूल गतिविधिले राज्यप्रति नागरिकको विश्वासमाथि गम्भीर प्रश्न खडा हुने गर्दछ। तसर्थ प्रहरी हिरासतमा श्रीकृष्ण विकको रहस्यमय मृत्युको सत्यतथ्य सार्वजनिक गर्न, घटनाको स्वतन्त्र निष्पक्ष छानबिन गर्न र दोषीहरू उपर कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभूति गराउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।”



२०८३ वैशाख १० १५:२७ बजे

प्रतिक्रिया