सोभियत संघको विघटन पछि विश्ववाट कम्युनिस्ट आन्दोलन समाप्त भएको घोषणा गरिएको थियो । विश्वका कतिपय मुलुकमा अहिले पनि कम्युनिस्टको नाममा शासन चलिरहेको छ । विश्वको आधा जनसंख्या भन्दा वढी संख्या कम्युनिस्ट आन्दोलनको समर्थन वा प्रभावमा रहेको बुझ्न सकिन्छ । कम्युनिस्ट आन्दोलनमा बैज्ञानिक दृष्टि भएको हुनाले समाप्त हुने होइन , देश काल परिस्थिति अनुसार परिमार्जन अवश्य हुन्छ । पहिले पृथ्वी चेप्टो छ भन्ने बैज्ञानिक आधार रहेको थियो । थप अध्ययन अनुसन्धान , थप बैज्ञानिक प्रयोगले पृथ्वी गोलाकार रहेको प्रमाणित भयो अथवा सत्यको नजिक भयो । आर्थिक , राजनीतिक , सामाजिक , मानव समाजको उत्पत्ति , विकास सबै क्षेत्र र व्यवस्थाका विषयमा अध्ययन अनुसन्धान गरेर नै मानव समाजको सर्वोत्तम समाज नै कम्युन समाज भएको दाबी कार्लमाक्सले गरेका हुन् ।
कम्युन अर्थात् साम्यवाद भन्दा उन्नत व्यवस्था कुनै छ र परिकल्पना छ भने समाज अन्ततः त्यही बाटोमा अगाडि बढ्दछ । त्यसमा कम्युनिस्टहरुको कुनै अवरोध तथा विरोध रहन्न समर्थन रहन्छ । भित्रभित्रै मक्किएको पुँजीवाद र त्यही बैचारिकि वोकेका कथित बुद्धिजीवीहरुले पुँजीवादको उग्ररूप साम्राज्यवाद समाप्तिको बाटोमा अगाडि बढेको नदेखेर कम्युनिस्ट सकिए भनेर हौसिएका छन् । कम्युनिस्ट आन्दोलन सकिन वर्ग सकिन पर्छ । जतिबेला सम्म वर्ग रहन्छ , त्यो बेलासम्म वर्ष संघर्ष चलिरहेको हुन्छ । अथवा उत्पादन सम्बन्ध र वितरण प्रणालीमा जबसम्म अन्याय रहन्छ , अन्यायको विरुद्ध संघर्ष चलिरहन्छ ।अन्याय विरुद्ध चल्ने संघर्ष कम्युनिस्ट आन्दोलन हो । अहिले चलिरहेको इरान र अमेरिका युद्ध वर्ग युद्ध नै हो । उत्पीडित समुदायले प्रतिक्रियावादी व्यवस्था विरुद्ध र उत्पीडित राष्ट्रहरुले साम्राज्यवाद विरुद्ध संघर्ष गरिरहेका हुन्छन् र भइरहेको छ । साम्राज्यवादको अर्को नाम युद्ध हो । उसले युद्ध नगरी सुरक्षित ठान्दैन । अन्ततः युद्धले नै समाप्तिको बाटोमा लगेको छ । अभाव , गरीबी , आर्थिक संकटवाट मुक्त हुनखोज्ने मानविय स्वभावले अन्ततः साम्यवाद चुम्नेछ ।
नेपालमा अहिले सम्पन्न कथित निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्राप्त सांसद संख्या संग कम्युनिस्ट आन्दोलन कुनै साइनो छैन । विगतमा वामपन्थी आन्दोलनमा लागेका र बैचारिक स्खलन भएकाहरुको कम्युनिस्ट आन्दोलन विरोधी रोदनले कम्युनिस्ट आन्दोलन रोकिन्न । कसैको चाहनाले कम्युनिस्ट आन्दोलन विश्वव्यापी भइहाल्ने र सकिने हुन्न । कम्युनिस्ट आन्दोलन एउटा महान अभियान हो । विभिन्न रुपमा चलिरहेको छ र चलिरहन्छ । चेतना रहोस् ।
प्रतिक्रिया