सन्तुलित परराष्ट्र नीति अवलम्वन नगर्दा र साम्राज्यवादी शक्तिको आश्रय लिन खोज्दा देशलाई युद्धको भुमरीमा फसाएर देश जलाउने पात्रको रुपमा समकालीन विश्व राजनीतिमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्सकी चर्चित छन् । नेपालको राजनीतिमा पनि अमेरिकी साम्राज्यवादले जेलेन्सकीहरु तयार गरिरहेको छ भन्ने कुरा लामो समयदेखि चर्चा परिचर्चा चल्दै आएको छ ।
जेलेन्सकीले १९९५ मा युक्रेनको राजधानी किभमा राष्ट्रिय आर्थिक विश्वविद्यालयमा अध्ययन गरेका थिए र सन् २००० मा उनले कानुनबाट डिग्री हासिल गरेका थिए । कानुनका विद्यार्थी भए पनि विद्यार्थी जीवनमै उनी नाट्यशालातिर आकर्षित भइसकेका थिए । युक्रेनी टेलिभिजन च्यानल इन्टर टि.भी.मा चर्चित हाँस्यव्यंग्य कलाकारको रुपमा उनी प्रख्यात भए । सन् २०१२ मा जेलेन्सकीले टि.भि. च्यानल छाडे । तर उनले कलाकारिता छाडेनन् ।
जारकालीन रुसको समयमा जर्जिया र युक्रेन रुसी साम्राज्यको उपनिवेश थिए । सन् १९१७ को अक्टोबर क्रान्तिपछि जारकालीन रुसी साम्राज्यवादको मातहतमा रहेका उपनिवेशहरुलाई आत्मनिर्णयको अधिकारको सिद्धान्त अनुसार छुटिने वा रुससित सँगै बस्ने अधिकार दिइएको थियो । आत्मनिर्णयको अधिकार प्रयोग गर्दै पोल्याण्ड र फिनल्याण्ड रुसबाट छुट्टिएर अलग्गै देश बने । जर्जिया,युक्रेन सहित १४ वटा उपनिवेशहरु रुससितै संघीय प्रणालीमा रहन तयार भए । जर्जिया र युक्रेन छुट्टाछुट्टै देश भए पनि पछिल्लो अवधिमा एउटै थिए । युक्रेनको सत्तामा पश्चिमा हावी भए पछि जर्जिया युक्रेनबाट टुक्रिएर रुसमा मिल्न गयो ।
स्वाधीनताको दृष्टिकोणबाट हेर्दा पुराना र नयाँ दुवै खाले संसदवादी दलहरु अमेरिकी साम्राज्यवादलाई पक्षपोषण गर्दै आएका छन् । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा अमेरिकी लबीका नेता भनेर चिनिन्थे शेरबहादुर देउबा र आर्जु देउवाको बीचमा विवाह गराउनमा समेत तत्कालीन अमेरिकी राजदूत जुलिया च्याङ ब्लकको मध्यस्थकर्ताको भूमिका थियो भन्ने धेरैलाई थाहा भएकै कुरा हो। ०४८ सालमा नेपाली कांग्रेसले संसदबाट एकमना सरकार निर्माण गरेपछि तत्कालीन काङ्ग्रेसी सरकारका गृहमन्त्री शेरबहादुर देउवा बने । उनीसिसत एक भोजमा आर्जु देउवासँग जुलिया च्याङ बलकले परिचय गराएका थिए।
शेरबहादुर देउवा अमेरिकाप्रति कति धेरै बफादार थिए“ भन्ने कुरा सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्दा देउवाले भनेका थिए “अमेरिका इराक युद्धमा यदि अमेरिकालाई युद्धक विमानमा तेल भर्न आवश्यकता पर्दछ भने नेपालको काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न दिनुपर्दछ। ”जबकि अमेरिकाले युद्ध विमानमा तेल भर्नका लागि एयरपोर्ट प्रयोग गर्छु भनेर माग गरेकै थिएन ।अमेरिका प्रति यति धेरै वफादार शेरबहादुर देउवालाई पन्छाएर किन गगन थापाहरूलाई अगाडि सारियो भन्ने प्रश्न उठ्ने गरेको छ। एक, शेरबहादुर देउवा, जनताका बीचमा बदनामित भइसकेकाले, दुई,उमेरका हिसाबले वृद्ध भइसकेकाले चाहेजति क्रियाशील हुन नसक्ने भएकाले देउवाले भन्दा अमेरिकी हितका कार्यहरुलाई गगन थापा जस्ता नयाँ पुस्ताका मान्छेहरुले धेरै राम्रोसँग सम्पादन गर्न सक्ने भएकाले,तीन, देउवा पछिल्लो कालमा सत्ता लालचाका लागि आफूलाई वामपन्थी बताउने एमाले, माकेसँग समेत सहकार्य गर्न तयार भएकाले अमेरिकाको आँखामा शेरबहादुरहरू भन्दा गगनहरू रोजाइमा परे। अमेरिकाले संसारभरि नै आफ्ना दलालहरूलाई यसरी नै प्रयोग गरिरहेको हुन्छ।
गगन थापा विद्यार्थीकालदेखि नै पश्चिमा परस्तव्यक्ति हुन्। २०६३ सालतिर गगन थापा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसङ्घको महामन्त्री थिए।त्यतिबेलै एकपटक विश्व बैंकको नेपाल शाखा कार्यालयले काठमाडौँमा पद्मकन्या कलेजको एउटा हलमा बोलाएर विभिन्न विद्यार्थी संगठनको धारणा लिने काम गरेको थियो।म पनि विद्यार्थी संगठनको प्रतिनिधिको रुपमा त्यहाँ उपस्थित भएको थिएँ। यहाँ केही अमेरिकी परस्त प्राध्यापकहरु थिए। जसले जोडजोडले विश्व बैंक नभई हुँदैन हामीलाई भनेर बोलेका थिए। केही वामपन्थी विद्यार्थी संगठनहरुले विश्व बैंकले अनुदान दियो भन्दैमा उनीहरूकै पाठ्यक्रम, उनीहरुकै निर्देशन अनुसारको शैक्षिक कार्यक्रम लागू हुनुपर्छ भन्ने जरुरी छैन , हामीले हाम्रो आवश्यकता अनुसारको शिक्षा प्रणाली बनाउनुपर्छ भन्ने प्रकारका धारणा राखेर विश्व बैंक प्रति असन्तुष्टि जाहेर गरेका थिए तर गगन थापाले शिक्षा प्रणालीका लागि विश्व बैंकको अनिवार्य आवश्यकता छ भन्दै बोलेका थिए।
मैले विद्यार्थी संगठनमा काम गर्ने बेलामा नै विद्यार्थी नेताहरूको बीचमा गाईँगई गगन थापालाई भविष्यको पश्चिमाको एजेन्ट, शेरबहादुर देउवा, रामशरण महतहरूको उत्तराधिकारी भनेर टिप्पणी हुने गथ्र्यो। त्यो कुरा पछिल्लो अवधिमा पुष्टि हुँदै पनि गएको छ। अमेरिकी स्वार्थ अनुरूप एमसीसी परियोजना भित्रिने कुरा भएपछि संसदमा जोडदार रुपमा राष्ट्रघाती एमसीसी प्रोजेक्टलाई पैरवी गर्ने मध्येहरूमा गगन थापा पनि थिए। एमसीसी परियोजना संसदबाट पारित गर्ने बेलातिर तत्कालीन एमालेका नेता भीम रावलले गगन थापा विश्व बैंकको कुनै खास कमिटीमा बसेको प्रमाण देखाउँदै भन्ने गरेका थिए,“ गगन थापा विश्व बैंकको कमिटीमा बसेका छन् भने उनले एमसीसीको पक्षमा वकालत गर्नु ठिकै त हो नि हैन र मित्र हरु ।”भन्दै कागज। भीम रावलको त्यस कुुराको उनले खण्डन गरेको सुनिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीतिमा नयाँ पार्टीको रूपमा आएको छ। विभिन्न पार्टीबाट निष्कासित भएका वा विभिन्न पार्टीमा अवसर नपाएका व्यक्तिहरू यस पार्टीमा जम्मा भएका छन् । यस पार्टीका अध्यक्ष रवि लामिछाने आमरुपमा सहकारी ठगका रूपमा कुख्यात भएका छन्। रवि लामिछाने सहितले सहकारीबाट जनताको पैसा हिनामिना गरेका कारणले हजारौं जनता सडकमा रुँदै रुँदै हिँडेका छन्। किर्ते नागरिकता बनाएर हिँड्ने, ठगी धन्दा गर्दै हिँडेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग हुँदाहुँदै पनि कतिपय मानिसहरु “वा रवि लामिछाने, क्या रवि लामिछाने” भन्दै पछि लागेको देख्दा साँच्चै आश्चर्यको विषय बनेको छ।नेपाली कांग्रेसमा सांसदको टिकट नपाएर रास्वपा छिरेका स्वर्णिम वाग्ले राष्ट्रघाती एमसीसी परियोजना का पैरवीकर्ता हुन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पनि एमसीसी कार्यान्वयन गराउन जोडतोडले लागिपरेका व्यक्ति हुन्। रास्वपा पश्चिमाहरूको नयाँ शक्ति केन्द्रका रूपमा परिचित भइरहेको सन्दर्भमा कुलमान पनि यसै पार्टीमा जोडिएको थिए तर पदीय महत्वकांक्षा र स्वार्थ जोड घटाउका कारण अहिले रास्वपाबाट उनी अलग भएर उज्यालो नेपाल पार्टीलाई निरन्तरता दिन खोजेका छन् । बिस्तारै भविष्यमा उनीहरूको बीचमा पार्टी एकता वा सहकार्य हुन सक्छ।
काठमाडौँको अस्थिर जनमतको दुरुपयोग, सामाजिक सञ्जालको अत्यधिक प्रयोग,विदेशमा बस्ने नेपालीहरूको असन्तुष्टिको समेत प्रयोगगरी काठमाडौँ महानगरपालिकाका मेयर बनेका बालेन्द्र शाहको असली रुप जेन्जी विद्रोहले उतारिदिएको छ।उनी पनि पश्चिमाहरूकै भक्त रहेछन् भन्ने कुरा यतिबेला धेरैलाई स्पष्ट भएको छ। भेडा भेडा एकातिर बाख्रा बाख्रा एकातिर भनेजस्तै आखिर साम्राज्यवादीहरूको नयाँ केन्द्र रास्वपामा नै उनी पनि जोडिन पुगेका छन्। जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा पेन्डुलम बनेका एकजना व्यक्ति धरानका मेयर हर्क साङपाङ हुन्। अब देशको प्रधानमन्त्री म बन्छु भन्दै धरानबाट हतारिँदै सैनिक हेडक्वाटरमा बिन्ती भाउ बिसाउन उनी आएका थिए। तर त्यहाँ बालेन्द्र शाहजस्ता व्यक्तिहरूले कसलाई प्रधानमन्त्री बनाउने छलफलमा अगाडि गइसकेका थिए ।प्रधानमन्त्रीपद प्राप्त नगरेपछि उनी मलाई भारतीय दुताबासमा अनुमति लिन पठाइयो भन्दै हिंडे । कार्कीले कतै गृहमन्त्री बनाउछन कि भनेर पनि प्रयास गरे, त्यसमा पनि उनि सफल हुन सकेनन् ।
जेलेन्सकी टेलिभिजन कार्यक्रमबाट चर्चित बनेका थिए। रवि लामिछाने पनि सहकारी ठगेर जम्मा गरेको पैसाबाट नै किन नहोस् टेलिभिजन कार्यक्रमबाट नै नेपालमा प्रख्याती कमाएका थिए । जेलेन्सकी हाँस्य कलाकार थिए । त्यस्तै बालेन्द्र शाह पनि रयाप दुनियाका एक कलाकार हुन्। यसरी जेलेन्सकी र नयाँ भनिएका नेपालका राजनीतिक पात्रहरूसँग कैयौँ कुराहरू मिल्दछ। गत २०७९ को चुनावमा नै अघोषित रूपमा गगन थापा र रबिहरुको सहमति भएको छ भन्ने चर्चा चल्ने गरेको थियो। अहिले पनि त्यो चर्चा छँदैछ।सकभर कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी कब्जा गर्ने र पार्टी नेतृत्व कब्जा गर्न नसकेमा एउटा समूहले रवि लामिछानेहरूसित चुनावमा एकता वा सहकार्य गर्ने भित्रि सल्लाह थियो भनिन्छ । भविष्यमा पश्चिमाभक्तहरुको एकता वा सहकार्यको ढोका खुलै हुनुपर्छ ।
आफूलाई वामपन्थी बताउनेहरू पनि प्राय नामका मात्रै वामपन्थी छन्। भारतमा भाकपा माक्र्सवादी अथवा भाकपा मालेका केही समूहलाई कतिपय वामपन्थीले दक्षिणपन्थी भन्छन् । अमेरिकाले भेनेजुएलामा आक्रमण गरे पछि भाकपा माक्र्सवादीले साम्राज्यवादको विरोध गर्दै विशाल जुलुस प्रदर्शन गरेको छ । भाकपा माले लिब्रेसनले कलकत्तामा ट्रम्पको पुत्ला जलायो । तर प्रचण्ड,ओली,माधव बोल्न सकेनन् । प्रचण्डको पार्टीका झलनाथ खनालले पूर्व प्रधानमन्त्रीको नामबाट वक्तव्य निकाल्नुपर्ने, भेनेजुएलाको बारेमा प्रचण्डले मुख उप्काउन नसक्ने ।
सत्ता स्वार्थले राष्ट्रिय स्वाधीनताको मामलामा उनीहरु कति धेरै कमजोर भइसके भन्ने कुरा यसबाट पुष्टि हुन्छ। राष्ट्रिय स्वाधीनताको प्रश्नलाई ठिक ढंगले क्रान्तिकारीहरूले उठाइरहेका छन्। राष्ट्रिय स्वाधीनताको प्रश्नलाई आजको देशको राजनीतिको महत्वपूर्ण विषय बनाएर राजनीतिक, सांगठनिक , प्रचारात्मक सबै कार्यहरुलाई अगाडि बढाउनुपर्ने आवश्यकता बनेको छ।
(लेखक- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविए तथा हाँक पत्रिकाका सम्पादक हुनहुन्छ)
प्रतिक्रिया