बिदेशिएकाहरु माघी मनाउन घर फर्किंदै

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २५ १९:३१ बजे

धनगढी।  थारू समुदायमा विशेष रूपमा मनाइने माघी पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा भारत गएका थारू समुदायका व्यक्ति धमाधम स्वदेश फर्किन थाल्नुभएको छ ।  

माघ सबैभन्दा ठुलो पर्व रहेकाले उहाँहरू पर्वमा रमाउनका लागि स्वदेश फर्किरहनुभएको छ । माघ पर्व थारू समुदायको नयाँ वर्ष पनि हो । माघ १ गतेबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । थारू समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म नाच्दै, रमाउँदै हर्षोल्लासपूर्वक माघ पर्व मनाउने चलन रहेको छ । 

माघ आफूहरूको महत्वपूर्ण पर्व रहेकाले परदेसिएकाहरू टाढा टाढाबाट भए पनि सकेसम्म माघ मनाउन आउने गरेको बताइन्छ । माघ आफ्नो समुदायको निकै महत्वपूर्ण पर्व रहेकाले प्रत्येक वर्ष पर्व मनाउनका लागि घर फर्किने गरेको भारतको बेङ्गलोरमा काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिकास्थित खोंपाका श्रवण चौधरीले बताउनुभयो । उहाँले माघ पर्व मनाएर पुनः कर्मथलोमा फर्किने उल्लेख गर्नुभयो । 

माघनजिक आइसकेकाले थारू समुदायमा पर्वको तयारी भइरहेको छ । अहिले कुटानीपिसानी गर्ने, जङ्गलबाट पात टिपेर दुनाटपरी बनाउनेलगायतका कार्य भइरेका छन् । माघ पर्वमा यो समुदायका धेरै जसो मानिसले जाँडको झोल खाने गर्छन् । महिना दिनअगाडिबाटै त्यसको तयारी भइरहेको जनाइएको छ । त्यस्तै बजारमा किनमेल काम पनि सुरु भएको छ । कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले गाउँघरमा माघको सुरसार हुन थालेको बताउनुभयो । उहाँले पर्व, विवाहलगायतका लागि जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने कार्य भइरहेको उल्लेख गर्नुभयो । 

माघ पर्वको पहिलो दिन मासुसहित खानपान गरेर धमार, ढुमरु गीत गाएर रमाइलो (राहरङ्गित) गर्ने, दोस्रो दिन बिहानै स्नान गरेर ठुलाबडाको आशिर्वाद लिने र तेस्रो दिन माघी डेवानी गरेर पर्व विसर्जन गर्ने चलन रहेको छ । माघ पर्वमा ठुलाबडाको आशीर्वाद लिइने गरेकाले आफूहरूका लागि माघ निकै महìवपूर्ण पर्व रहेको राजीपुरका लखन चौधरीले बताउनुभयो ।   


२०८२ पुष २५ १९:३१ बजे

प्रतिक्रिया