सत्ता बाहिर हुदा पनि के.पि. ओलीको नघटेको अहंकार

जेनजी आन्दोलनले नयाँ चेतना, विनम्रता उत्तरदायी र आत्मआलोचनासहितको नेतृत्व खोजिरहेको छ।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ७ १९:४८ बजे
माधवराज जोशि

नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा जेन जी आन्दोलनले सत्ता राजनीतिमा मात्र होइन, राजनीतिक चेतनामा समेत गहिरो प्रभाव छोडेको छ। यही आन्दोलन पछिको परिवेशमा हाल सत्तामा नरहेका तथा प्रधानमन्त्री पनि नभएका केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिहरूले फेरि एकपटक उनको राजनीतिक संस्कार, अहंकार र आत्मआलोचनाको क्षमतामाथि प्रश्न उठाएका छन्।

सत्ता र सरकारी जिम्मेवारीबाट बाहिर रहे पनि ओलीका भाषण, अन्तवार्ता र सार्वजनिक टिप्पणीहरूमा आत्ममन्थन भन्दा पनि आत्मकेन्द्रितता, विनम्रता भन्दा  घमण्डपूर्ण स्वर प्रष्ट देखिन्छ। विगतका निर्णय, असफलता र विवादप्रति जिम्मेवारी स्वीकार गर्नुको सट्टा, आलोचकहरूलाई हल्का व्यंग्य, अवमूल्यन र उपहास मार्फत सम्बोधन गर्ने प्रवृत्ति अझै कायम छ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने सत्ता बाहिर हुनु आफैंमा पराजय होइन। तर सत्ता बाहिर रहँदा पनि सत्ताकालीन अहंकार बोकेर हिँड्नु राजनीतिक अपरिपक्वताको संकेत हो। जनताले परिवर्तन खोजिरहेका बेला, नयाँ पुस्ताले प्रश्न गरिरहेका बेला, पुराना नेताबाट अपेक्षा हुने कुरा आत्मसमीक्षा, राजनीतिक विनम्रता र सुधारको संकेत हुनुपर्नेमा, अहंकारको पुनरावृत्ति भइरहेको देखिन्छ। जेन जी आन्दोलनले स्थापित गरेको मूल सन्देश स्पष्ट छ, अब प्रश्न नसुन्ने, आलोचना नस्वीकार्ने र आफूलाई सधैं सही ठान्ने नेतृत्वप्रति युवापुस्ताको धैर्य सकिँदैछ। तर ओलीका पछिल्ला अभिव्यक्तिहरू हेर्दा, त्यो सन्देश गम्भीरतापूर्वक आत्मसात् गरिएको देखिँदैन।

राजनीतिक विश्लेषकहरूका अनुसार, सत्ता बाहिर बसेका नेताले भाषा र व्यवहारमा परिपक्वता देखाउन सके भविष्यको राजनीतिमा पुनःविश्वास आर्जन गर्न सक्छन्। तर पुरानै शैली, पुरानै कटाक्ष र पुरानै आत्मकेन्द्रित अभिव्यक्ति दोहोर्याइरहनु भने राजनीतिक अलगावलाई अझ गहिरो बनाउने बाटो हो। हामी यहाँ कसैको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाइरहेका छैनौं। तर सार्वजनिक व्यक्तित्वको हैसियतले बोलिने प्रत्येक शब्दले समाजमा सन्देश दिन्छ। सत्ता बाहिर रहँदा पनि यदि भाषा सत्तामा हुँदा जस्तै अहंकारी रहिरहन्छ भने, त्यो केवल व्यक्तिको समस्या हुँदैन, त्यो राजनीतिक संस्कृतिको समस्या बन्छ। अन्ततः, नेतृत्वको मूल्यांकन पदले होइन, आचरणले हुन्छ। जेनजी आन्दोलनपछिको नयाँ चेतनाले विनम्र, उत्तरदायी र आत्मआलोचनासहितको नेतृत्व खोजिरहेको छ। त्यो मागलाई उपेक्षा गर्दै अहंकारमै टिकिरहनु भनेको समयसँग होइन, समयको विरुद्ध उभिनु हो।


२०८२ पुष ७ १९:४८ बजे

प्रतिक्रिया