काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिंहले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएता पनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको बताए ।
उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औं महाधिवेशन हुनेमा शंका नगर्न उनले आग्रह गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्नेमा उनको जोड छ ।पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने समेत उनले बताए । उनले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्याएपछि महाधिवेशन हुने बताए ।
प्रतिक्रिया