काग्रेस नेता चन्द्र भण्डारीले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २५ १८:५० बजे
चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सभापति पदमा उम्‍मेदवारी दिने आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

भण्डारीका अनुसार देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको बताएका छन्। साथीहरूको सुझाव, समयको माग र राजनीतिक परिवेशलाई सम्मान गर्दै निर्णय लिएको उनले उल्लेख गरेका छन्।

फेसबुकमा लेख्दै भण्डारीले भनेका छन्, “नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ। देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।”

१४औं महाधिवेशनमा भण्डारी इतर समूहको नेतृत्व गर्दै उपसभापति पदमा उम्मेदवार बनेका थिए। उनी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए र १ हजार ५८० मत प्राप्त गर्दै चौथो स्थानमा रहे।

२०८२ मंसिर २५ १८:५० बजे

प्रतिक्रिया