महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २२ १९:१३ बजे

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।आज तय भएको हङकङ र बहराइनको खेल रद्द भएसँगै नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो । आजको खेल हुँदै हङकङले जितेको खण्डमा नेपालको यात्रा यहीबाटै समाप्त हुने थियो । 

आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग पराजित भएसँगै सुपर थ्री मा पुग्ने सम्भाना निकै कम रहेको थियो । नेपालका लागि या त आजको खेल रद्द हुनुपर्ने या त बहराइनले जित्नुपर्ने थियो । तर बैंककमा टस पनि हुन नपाइ दुवैबीचको खेल रद्द हुनपुग्यो र अंक बाँडे । 

चार खेलबाट एक हार, एक अंक बाड्दै र दुई जितसहित नेपालको पाँच अंक रहेको छ । यता हङकङको पनि चार खेलमा तीन खेल रद्द हुँदा अंक बाड्दै, एक जितसहित पाँच अंक छ । तर समूहचरणमा दुई खेलमा जित निकालेका कारण नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो ।

छनोटमा सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ ।नेपालले सुपर–थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।



२०८२ मंसिर २२ १९:१३ बजे

प्रतिक्रिया