काठमाडौं । काठमाडौं महानगरले नगरबासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी विभिन्न निणर्यहरु गरको छ । महानगरपालिकाले फुटपाथ व्यवस्थापनमा खटिने नगर प्रहरीलाई भत्ता दिने भएको छ । कार्यपालिकाको बैठकले उनीहरुलाई अतिरिक्त ५ सय रूपैयाँ भत्ता दिने निर्णय गरेको हो ।
महानगरको कार्यपालिका बैठकले विभिन्न २७ वटा निर्णयहरु गरेको प्रवक्ता नविन मानन्धरले बताएका छन्। बैठकले महानगरका ३२ वटै वडाहरूमा एकजना चिकित्सक र नर्स राख्ने निर्णय पनि गरेको छ। ‘सबै वडामा भएका सहरी स्वास्थ्य क्लिनिकमा एक जना जनरल फिजिसियन र स्टाफ नर्स करार सम्झौतामा राख्ने निर्णय भएको प्रवक्ता मानन्धरले बताएका छन्।
महानगरले महानगरभित्रका खाद्यको गुणस्तर मूल्यांकन तथा अनुगमन गर्न ५ जना खाद्य विज्ञ राख्ने पनि निर्णय गरेको छ। बैठकले टेकु ट्रान्सफर स्टेसनमा रहेका फोहोर उठाउनका लागि ५० वटा टिपर भाडामा लिने पनि निर्णय गरेको उनले जानकारी दिए । ट्रान्सफर स्टेसनमा ६ टिपर जति फोहोर रहेको र खाली गराउन ती टिपरहरु प्रयोग हुने मानन्धरले बताएका छन् ।
महानगरले कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई दिँदै आएको दिवा खाजाको भत्ता पनि बढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयहरूमा कक्षा ६ सम्म अध्ययनरत बालबालिकाहरुका लागि दैनिक दिवा खाजाका लागि २५ रूपैयाँ दिने निर्णय गरेको हो । यसअघि दिवा खाजाबापत १५ रूपैयाँ दिइँदै आएको थियो ।
महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राख्ने पनि निर्णय गरेको छ । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राख्दै आएको थियो ।बैठकले ‘भू–उपयोग परिषद्’ गठन गर्ने पनि निर्णय गरेको उनले बताए । परिषद्ले जग्गाको अवस्था हेरेर व्यावसायिक, कृषि तथा अन्य प्रयोजनका लागि प्रयोग हुन सक्ने बारे जानकारी दिने प्रवक्ता मानन्धरलेबताएका छन्।
प्रतिक्रिया