साम्राज्यवादी तथा विदेशी हस्तक्षेप विरुध्द देशको स्वाधिनताको रक्षाका लागी मोर्चा गठन गरिने

नेपाली सेनाले देखाएको गैरजिम्मेवार प्रवृत्ति र राजनीतिक भूमिकाको कडा शव्दमा आलोचना र भत्र्सना गर्दछ ।

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक ४ १७:४२ बजे

काठमाण्डौ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यही २०८२ साल असौज २९ देखि कार्तिक १ गतेसम्म काठमाण्डौंमा सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा पारित समसामयिक प्रस्तावहरु पारित गर्दै भनिएको छ-  जेन–जेड विद्रोह (२०२५) को दौरानमा नेपाली सेनाले सुरक्षाको जिम्मेवारी पाएका राष्ट्रपति भवन र सिंहदरबार लगायतका महत्वपूर्ण संरचनाहरुमा आगजनी हुँदा समेत उक्त स्थानहरु जोगाउने तर्फ नलागेर नेपाली सेना मुकदर्शक भएर बस्यो । त्यसका अतिरिक्त राजनीतिक अग्रसरता आफ्नो हातमा लिएर देशलाई प्रतिगमन तर्फ लैजाने प्रयत्नमा लागेको र त्यो कार्य सम्भव नभएपछि नयां प्रधानमन्त्री चयन गर्नमा मुख्य भूमिका खेल्यो । यो बैठक नेपाली सेनाले देखाएको गैरजिम्मेवार प्रवृत्ति र राजनीतिक भूमिकाको कडा शव्दमा आलोचना र भत्र्सना गर्दछ ।

देशमा जनविरोधी भ्रष्ट दलालहरुको नेतृत्वमा कायम रहेको शासन व्यवस्थाका कारण गत भदौमा भएको नेपालको जेन–जेड विद्रोहको दौरानमा साम्राज्यवादी तथा विदेशी शक्तिहरुको व्यापक संलग्नता र हस्तक्षेप भएकोछ । यो बैठक त्यस प्रकारको बाह्य हस्तक्षेपको हदैसम्म विरोध एवम् निन्दा गर्दछ । देशको स्वाधिनताको रक्षाका लागी साम्राज्यवाद विरोधि मोर्चा गठन गर्नुपर्ने आवश्यकता ठहर गर्दछ।

हमास र इजायलका बीचमा गत २०८० असोज २० (२०२३ अक्टोबर ७) देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ । अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हमास र इजरायलका बीचमा शान्ति सम्झौता भएकोछ । उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्र हुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्त शान्ति सम्झौतालाई स्वागत गर्दछ र हमासलाई निशश्त्र गर्ने सर्तको विरोध गर्दछ ।

.गत २०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेन बीचको युद्ध आजपनि कायम रहेकोछ । उक्त युद्धको अन्त्यगर्ने प्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका बीचमा अलस्कामा उच्च स्तरीय वार्ता भएको थियो तर त्यसको ठोस परिणाम आउन सकेको छैन । यो बैठकले युक्रेनको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अक्षुण्णताको पक्षमा समर्थन जाहेर गर्दछ र उक्त युद्धको सिघ्रातिसिघ्र अन्त्यगरी शान्ति स्थापना गर्न आव्हान गर्दछ ।

यही २०८२ साल भदौ २ (२०२५ सेप्टेम्बर १०) मा चिनीया परराष्ट्र मन्त्रीको भारत भ्रमणको दौरानमा चीन र भारतले नेपालको भू–भाग लिपुलेकलाई द्विदेशीय व्यापारिक नाकाको रुपमा सन्चालन गर्ने निर्णयलाई पुनः कार्यान्वयन गर्ने सहमति गरेकाछन् । उक्त निर्णयले नेपालको स्वाधीनता र भौगोलिक अखण्डताको जबरजस्त ढंगले उल्लङ्घन गरेकोछ । यो बैठकले चीन र भारतको उक्त सहमतिप्रति घोर आपत्ति जनाउंदै नेपालको स्वाधीनता एवम् अखण्डताको सम्मान गर्न आव्हान गर्दछ र उक्त समस्याको समाधानको लागि सकृय रुपमा कूटनितिक पहलकदमी लिन नेपाल सरकारसँग अपिल गर्दछ ।

यही २०८२ साल भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर  देशव्यापी रुपमा सन्चालन भएको “जेन–जेड” विद्रोहको दौरानमा ७८ जना निहत्था नागरिकहरु मारिएका छन्  र अन्य सयौं व्यक्ति घाइते भएका छन् । यो बैठकले विद्रोहका मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुलाई निःशुल्क उपचार उपलब्ध गराउन जोडदार माग गर्दछ ।

यही २०८२ असौज ९ (२०२५ सेप्टेम्बर २५) मा भारतको केन्द्रशासित राज्यको रुपमा रहेको लद्दाखलाई स्वशासित राज्यको स्तर प्रदान गर्नुपर्ने माग राखेर त्यहाँका जनताहरुले गरेको प्रदर्शनमाथि भारत सरकारको दमनबाट ४ जना प्रदर्शनकारीहरु मारिएकाछन् र त्यसको नेता सोनाम वाङ्चुकलाई  गिरफ्तार गरिएको छ । यो बैठक लद्दाखका जनताहरुले उठाएको जायज र न्यायपूर्ण मागप्रति समर्थन जाहेर गर्दछ र भारतीय सरकारद्वारा गरिएको हत्या एवम् दमनको कडा शब्दमा भत्र्सना गर्दछ । साथै, गिरफ्तार नेताको विनाशर्त तत्काल रिहाइको माग गर्दछ ।

यही २०८२ साल असोज महिनाको मध्यतिर भएको यस बर्षको भारी मनसुनी बर्षाको कारणले उत्पन्न भएको बाढी पहिरोको प्रकोपले गर्दा देशका विभिन्न स्थानहरुमा व्यापक जनधनको विनाश र भौतिक पूर्वाधारहरु क्षतिग्रस्त भएकाछन् । यस बैठकले उक्त प्रकोपमा ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दछ र सरकार समक्ष पीडित जनताहरुलाई उचित सहयोग प्रदान गर्न र क्षतिग्रस्त संरचनाहरुको तत्काल पुनः निर्माण गर्न जोडदार माग गर्दछ । यतिखेर देशमा चाडपर्वको समय रहेको छ र व्यापारीहरुद्वारा यस माहौलको मौका छोपेर दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा जथाभावी वृद्धि भएको छ । त्यसरी गरिएको मूल्यवृद्धिको परिणामस्वरूप सर्वसाधारण जनताले दैनिक जीवनमा महंगीको मार खेप्नु परेकोछ । यस बैठकले जथाभावी मूल्यवृद्धि मार्फत भैरहेको महंगीलाई तुरुन्त नियन्त्रण गर्न र उपभोग्य वस्तुहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ  भनि समसामयिक प्रस्ताव पारित गर्दै वैठक सम्पन्न गरेको वताइन्छ।


२०८२ कात्तिक ४ १७:४२ बजे

प्रतिक्रिया