काठमाडौं। जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो।
अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी भएको मृतकका एक आफन्तले बताए। यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ। थप १० जनाको चाहिँ आज हुन लागेको हो।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन्।
नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरु छन्। कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन्।
प्रतिक्रिया