काठमाडौं । काठमाडौंको गल्लीदेखि ग्रामीण बस्ती सम्मै गुण्डागर्दीले फेरि टाउको उठाउन थालेको तथ्य खुलेको छ । राजनीतिक संरक्षणको बलमा संगठित अपराधको पुरानै जालो पुनः सल्बलाउँदै गएको तथ्य विभिन्न घटनाबाट खुल्न थालेको छ ।
राज्य संयन्त्रको कमजोर उपस्थिति र कानुनी कार्यान्वयनको अभावले गर्दा यस्ता समुहहरूलाई फस्टाउने मौका मिलिरहेको छ । गुण्डागर्दी बढ्दै जानु न केवल शान्ति सुरक्षाका लागि चुनौती बनेको छ, यसले सामाजिक संरचना र स्थानीय शासनलाई समेत असर पुर्याउने खतरा बोकेको छ ।
यही मेसोमा प्रहरी अहिले गुण्डा नाइकेहरुको सूची नै तयार गरेर गुण्डागर्दी नियन्त्रण अभियानमा लागेको छ । स्रोतका अनुसार, यतिबेला काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले २ सय भन्दा बढी गुण्डा नाइकेको सूची तयार गरेर निगरानी थालेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार अभियान अन्तर्गत नै प्रहरीले चक्रे मिलन भनिने मिलन गुरुङसहित केही व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । यसबाहेक पनि प्रहरी निगरानीमा छन् ।
स्रोतका अनुसार प्रहरीले भक्तपुरबाट ३४, ललितपुरबाट ६५, काठमाडौंबाट २०० भन्दा धेरै गुण्डा नाइकेहरुको सूची तयार पारेको हो । तीमध्ये पनि काठमाडौंमा मात्रै १६ जना ‘क’ श्रेणीका छन् भने बाँकी ‘ख’ र ‘ग’ श्रेणीमा छन् । उनीहरूलाई आत्मसमर्पण गर्न चेतावनी दिन तथा पक्राउ गर्न नेपाल प्रहरी सक्रिय बनेको छ । विगतमा पनि गुण्डागर्दीकाविरूद्धमा चलेको प्रहरी अभियानमा इन्काउन्टर हुँदा केहि चर्चित गुण्डाहरूको निधनसमेत भएको थियो ।
को–को छन् प्रहरी सूचीमा -प्रहरी स्रोतबाट उपलब्ध सूची अनुसार काभ्रेका दावा लामा ‘क’ वर्गमा पर्छन् । प्रहरीको यो अभिलेखले ठेक्कापट्टा, क्यासिनो, बुद्धचित्त मालाको कारोबार र मिटरब्याजका गतिविधिमा संलग्न भएर लामाले आपराधिक काम गरिरहेको देखाउँछ । उनी सत्तारुढ दल नेपाली कांग्रेस निकट हुन् ।यीनै दावा लामालाई गुण्डागर्दीको दुनियाँमा प्रवेश गराउने गणेश लामा धेरै अघि देखि राजनीतिमा छिरिसकेका छन् ।अहिलेपनि उनको गतिविधि प्रहरीले निगरानी गरिरहेको छ । नेकपा एमालेको समर्थनमा मनाङ ‘ख’बाट प्रदेशसभा सदस्य बनेका दीपक मनाङे अहिले जेलमा छन् ।
त्यस्तै शुक्रे तामाङ प्रहरीलाई नै आक्रमण गर्न पछि नपर्ने गुण्डा हुन् । कारागारबाट अस्पताल जाने बहानामा सहयोगी प्रयोग गरेर प्रहरीलाई आक्रमण गर्ने उनी जेलबाट छुटेलगत्तै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।प्रहरीको एक अभिलेख अनुसार काठमाडौंको बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय छन् । तीमध्ये २२ जना नेपाली कांग्रेससँग जोडिएका छन् । १६ जना नेकपा एमाले, दुई माओवादी र एक जना राप्रपामा छन् । नेपाली कांग्रेससँग आबद्ध गुण्डा मध्ये अधिकांश ‘क’ वर्गका छन ।
सूची अनुसार दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, झिंगे भन्ने सञ्जय लामा लगायतका गुण्डाहरू कांग्रेससँग आवद्ध छन् । उनिहरु ‘क’ श्रेणीमा नाम दर्जभएका हरु हुन् ।
प्रहरी स्रोतका अनुसार ‘क’ श्रेणीमा दर्ज भएका कांग्रेसको भ्रातृ संगठन तरुण दलको सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामा उर्फ ‘झिङ्गे’ प्रहरीको निगरानीमा छन् । उनि काठमाडौंको बौद्ध क्षेत्रमा बस्छन् । उनिमाथि गुण्डागर्दी, धम्कि, अशुली, ठेक्कापट्टामा चलखेल लगाएत आरोप छ । यसबाहेक आफ्नै ज्वाईंलाई समेत खुकुरी प्रहार गर्न लगाएको आरोप उनिमाथि छ ।
काठमाडौ उपत्यकामा मात्र होइन, प्रहरीले छिमेकी जिल्ला धादिङ्, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि निगरानी बढाएको छ । स्रोतका अनुसार धादिङका राधे र सिन्धुपाल्चोकका सगुन पनि निगरानीमा छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका हगामाका गुण्डा नाइके भनेर चिनिने सगुन श्रेष्ठको पृष्ठभूमि विवादास्पद छ । उनि नेपाली काँग्रेस निकट मानिन्छन् । यता धादिङको उत्तरी क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली र अपराधमा संलग्न राधाकृष्ण भण्डारी उर्फ राधे समूहले आतङ्क मच्चाउँदै आएको छ । उनि पनि प्रहरीको निगरानीमा छन् ।
यता जोरपाटीका गुण्डा नाइके प्रकाश गोले नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । उनी टेन्डर, हप्ता असुली, धम्की र खुकुरी हान्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रहरी रेकर्डले देखाउँछ । नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमाले निकट मानिन्छन् ।
प्रहरी अभिलेख अनुसार, गुण्डागर्दीमा सक्रिय गौरीघाटका गोपाल थापा र सिफलका प्रतीक हवल्दार श्रेष्ठ माओवादी केन्द्र निकट छन् । राप्रपाका राम श्रेष्ठ पनि गुण्डागर्दीमा संलग्नको सूचीमा छन् । प्रहरी सूची अनुसार ललितपुरमा सूची अनुसार जिल्लामा ६५ गुण्डा नाइके छन् । उनीहरूमध्ये चापागाउँका मीनकृष्ण महर्जन नेपाली कांग्रेससँग जोडिएका छन् । केहीको विवरण खुल्न सकेको छैन ।
भक्तपुरका सरोज र बाबु थापा राप्रपासँग जोडिएका छन् । दुवाकोटका अनिल थापा, कटुन्जेका दीपक थापा, वसन्त लामा, ठिमीका जीवन श्रेष्ठ, सरेन्द्र दुवाल नेकपा एमाले निकट छन् । सुरेश लामा, बमबहादुर श्रेष्ठ, किशोर नेपाल, सतिश श्रेष्ठ, रवि राना, तेज डंगोल, बमबहादुर श्रेष्ठ, गौरी गुमाञ्जु, दिनेश लामा, रञ्जन सैजु, विष्णु चौगुठी र सतिश धौबन्जार नेपाली कांग्रेस निकट छन् । यसबाहेकलाई पनि प्रहरीले निगरानी गरिरहेको छ ।
प्रतिक्रिया