कैलाली कारागार कैदीवन्दीको नियत्रणमा

bimbonline बिम्ब अनलाइन
२०८२ साउन २६ १६:०८ बजे

कैलाली कारागारमा हिसांत्मक झडप भएको ३७ घण्टासम्म पनि प्रहरी प्रशासनका अधिकारी कैदीबन्दी कक्षमा प्रवेश गर्न सकेका छैनन् । कारागारको ए र बी ब्लकमा कैदीबन्दीबीच झडप भएकोमा अहिलेसम्म उक्त स्थानमा सुरक्षा अधिकारी जान नसकेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारको बाहिरी सुरक्षा मात्रै गरिरहेको बताए ।घटनास्थलमा अहिलेसम्म हामी गएका छैनौँ,’ हमालले भने, ‘आज दिउँसो मानवअधिकार आयोगको टोली र छानबिन टोलीसहित त्यहाँ जाने तयारी छ ।’

शुक्रबार राति भएको हिंसात्मक झडपमा परी कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेमध्ये आयुष भट्टलाई थप उपचारका लागि स्काई ट्रकमार्फत शनिबार नै काठमाडौं लगिएको छ भने थप एक जनालाई आज काठमाडौं लैजाने तयारी छ । तर, हिंसात्मक झडपको लामो समय बितिसक्दा पनि प्रहरी प्रशासनको टोली घटनास्थलसम्म पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन ।

यद्यपि शनिबार साँझ कैदीबन्दी गणनाको कार्य भने भएको कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले बताए । शनिबार दिउँसो मानवअधिकार आयोग सुदूरपश्चिमको टोली पनि कारागार पुगेको थियो । तर, मानवअधिकारको टोली पनि झडप भएको ब्लकमा भने पुग्न सकेको थिएन । उनीहरूले कैदीबन्दीसँग बाहिरबाटै कुराकानी गरेका थिए । मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रकाश भट्टका अनुसार कैदीबन्दीहरूले स्थानान्तरण पारदर्शी नभएको गुनासो भेटका क्रममा राखेका थिए ।

उनीहरूले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिसँग मात्रै कुराकानी गर्ने अडान पनि राखेको निर्देशक भट्टले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग पटक–पटक भेट्दा पनि समस्या समाधान नभएको भन्दै कैदीबन्दीले अब माथिल्लो तहका प्रतिनिधिलाई मात्रै भेट्न अडान राखेका हुन् । 


२०८२ साउन २६ १६:०८ बजे

प्रतिक्रिया