धनगढी।एउटै प्रकृति भएका सहकारीहरू मर्जगर्दा सहकारीहरू अझै बलियो हुने सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले जानकारी दिनुभयो।
एउटै उद्देश्य भएका सहकारीहरू एउटा वडामा धेरै हुन असान्दर्भिक रहेको बताउँदै कामको प्रकृति मिल्ने सहकारीहरू एक ठाउँमा उभिँदा सहकारीहरू अझै मजबुत हुने र संस्थाका सदस्यहरूलाई प्रभावकारी सेवा दिन सक्ने धारणा राख्नुभयो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरूमा एउटा पालिका दुईवटा उत्पादन कार्यक्रम सुदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयको विशेष पहलमा ल्याइएको छ । यस्ता कार्यक्रमा स्थानीय तहले सहकारीहरूसँग सहकार्य गरी कृषि र सहकारीलाई सँगै जोड्न जरुरी रहेको समेत उल्लेख गर्नुभयो।
सहकारी क्षेत्रको सुधार गर्नका लागि सहकारीका सेयर सदस्यहरू सक्षम हुनुपर्ने बताउँदै मन्त्री थापाले भन्नुभयो सहकारीका हरेक सदस्यहरू अब जिम्मेवार बन्नुपर्छ। धेरै सहकारीहरू बचत तथा ऋणको कारोबार गरेको देखिन्छ तर सहकारीले आफ्नो कार्यक्षेत्र र उद्देश्यअनुसार काम गर्नुपर्ने हुन्छ। वहाँले भन्नुभयो सहकारी क्षेत्रमा देखिएका समस्या र कानुनी रूपमा देखिएका समस्या समाधानका उपायबारे व्यापक छलफल गरी निष्कर्षमा पुग्नु आजको आवश्यकता हो ।
१०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हरेक वर्ष दिने अनुदानहरू अब उत्पादनमा आधारित सहकारीहरूलाई उच्च प्राथमिकतामा राख्ने समेत बताउनुभयो। ८५ प्रतिशत नागरिक कृषि पेशामा लागेका छन् तर पनि हामी खाद्य संकट बेहोर्नुपर्ने अवस्थामा छौँ। विश्वका विभिन्न विकसित मुलुकहरूले ५ देखि १० प्रतिशतसम्म कृषिमा काम गर्छन् त्यहाँका कृषकहरूले निर्यात पनि गर्दछन्। त्यसैले हाम्रो देशमा नितिगत समस्याहरू अझै पनि देखिन्छन्। कुनै किसानले १०० बिघामा कृषि गरेर आत्मनिर्भरता तर्फ सुनिश्चितता गर्दछ भने त्यस्तो युवा कृषकहरुलाई प्रदेशको सरकारले उच्च प्राथमिकता दिने समेत जानकारी दिनुभयो । सहकारीहरूका लागि उत्पादन बजारीकरण र विभिन्न प्रकारका तालिमहरुका लागि यस वर्ष समेत बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय सञ्चालक माधव जोशीले नेपालमा सबै खालका सहकारीहरूको सम्भावना रहेको बताउनुभयो। बचत तथा ऋण सहकारीहरूले ग्रामीण क्षेत्रमा रहेका नागरिक हरूको सारथीको रुपमा काम गरिरहेको जानकारी दिँदै कुनै पनि गाह्रो पर्दा सहकारी अरुले सरल तरिकाबाट कर्जा प्रदान गरिरहेको बताउनुभयो । सहकारी सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम तथा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को शुभकामना व्यक्तगर्दै उहाँले सहकारीले कृषि शिक्षा उद्योग सञ्चालन दुग्ध उत्पादन लगायतका विविध विषयहरूमा काम गरिरहेको बताउनुभयो । कार्यक्रममा सहकारीहरूको वर्तमान अवस्था नीतिगत समस्या तथा भावी रणनीतिक योजनाका विषयमा सहकारी विज्ञ डाक्टर रुपा जोशीले सहजीकरणगर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी रजिस्ट्रार तथा प्रशिक्षण केन्द्रका रजिस्ट्रार भवन जोशीले सहकारी क्षेत्रमा काम गर्न सकिने धेरै ठाउँहरू रहेको र आफू सधैँ सहकारीकर्मीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। लामो समय सहकारी रजिस्ट्रारको अभावमा पनि धेरै कार्यक्रमहरु स्थगित गरिएको हुँदा आगामी वर्षमा दरबन्दीअनुसार सबै कर्मचारी हरु नियुक्त हुने विश्वास व्यक्त गर्दै सहकारीकर्मीहरूको अनुभव र सुझावअनुसार सहकारी रजिस्ट्रार तथा प्रशिक्षण केन्द्र ले हातेमालो गर्ने धारणा राख्नुभयो।
वार्षिक समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विषयगत सहकारी सङ्घका अध्यक्ष सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूबाट सहकारीका प्रबन्धक राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रदेश प्रमुख लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले विद्यमान सहकारीका समस्या र ती समस्या निरूपण गर्ने राज्यको नीति तथा कार्यान्वयनको जटिलताका विषयमा व्यापक छलफल समेत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक दिप्ति शाहीले गर्नुभएको थियो ।
प्रतिक्रिया