तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे जरिवाना

तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे जरिवाना

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १३:२२ बजे
जरिवाना
काठमाडौं ।  हिन्दु धर्मावलम्बी महिलाहरुको   महान चाड हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा  जरीवाना गराईने भएको छ ।  कसैले  त्यस्तो फोटो खिचेमा नगद जरीवान गरिने छ ।  
पशुपतिनाथको मूल मन्दिरभित्र फोटो  खिच्ने  अनुमती छैन् । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले बताएका छन् ।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । 

तीजका वर्तालुलाई चार स्थानबाट प्रवेश गराइने

यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको हो ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ ।

छलफलमा केएन स्वामीले प्रकृति नै हरियो हुने भाद्र महिनामा मनाइने हरितालिका पर्व भगवान् शिवसँग जोडएको पर्व भएको उल्लेख गर्दै यसलाई तडकभडक भन्दा पनि शास्त्रले निर्देश गरे अनुरुप नै मनाउनुपर्नेमा जोड दिए ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले यस वर्षको तीजमा मूल मन्दिर प्रवेश गर्ने ढोकामा पुष्पहार राखिने र स्वयंसेवाको जिम्मेवारी पाएका संस्थालाई तोकिएको स्थानमा मात्र काम गर्न आग्रह गरे । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक रवि थपलियाले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारै वटा सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा विश्लेषण गरी तीज पर्वका अवसरमा शान्ति सुरक्षा दिने तयारी गरिएको  बताएका छन् । 
२०७९ भदौ ११ १३:२२ बजे

प्रतिक्रिया