ठेको, डालो, नाङ्लोमा पनि पटके कर

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र २२ ०६:२० बजे

बागलुङको ऐतिहासिक मेला हो चैत्राष्टमी मेला । वर्षको अन्तिम चाड चैतेदसैँमा नेपालकै प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शनसँगै स्थानीय उत्पादनहरू खरिद बिक्रीका लागि कालीगण्डकी वरपरका गाउँ गाउँबाट स्थानीयहरू मेलामा आउँछन् । 

पहिले पहिले सात दिन सात रातसम्मै लोकभाकामा दोहोरी चल्ने गरेको यो मेलाको पहिचान चोयाबाट बनाइएका डाला, नाङ्ला, काठका ठेकाठेकी, भाँडा खरिदबिक्री पनि हो । स्थानीय उत्पादनको ठुलो बजार यो मेलालाई बागलुङ नगरपालिकाले राजस्व उठाउने अवसर बनाएको छ ।

यस वर्ष पनि चैतको २० गतेदेखि कालिका मन्दिर परिसरमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ सञ्चालन भइरहेको छ । मेला सञ्चालनपछि चैतेदसैँ र मेलाको पहिचान बनेको चोयाबाट बनाइएका डाला, नाङ्ला, काठका ठेकाठेकी, भाँडा बिक्री गर्न गाउँ गाउँबाट उद्यमीहरू आउने क्रम बढ्दो छ । विगतका वर्षमा स्थानीय उत्पादनलाई मेला परिसरमा बिक्रीवितरण गर्दा कुनै कर नलिइने भए पनि यस वर्ष बागलुङ नगरपालिकाले पटके कर उठाएपछि उद्यमीहरूले गुनासो गरेका छन् । 

मेलामा चोयाबाट बनेका डाला र नाङ्लो बेच्नका लागि बडिगाड गाउँपालिका–४, जलजलाबाट आइपुग्नुभएका शशिराम विकले मेला परिसरमा आउन नपाउँदै बागलुङ नगरपालिका राजस्व शाखाको टोली नगर प्रहरीसहित आएर राजस्व लिएको बताउनुभयो । उहाँले मेलामा आएर एउटा पनि सामग्री बिक्री नगर्दै नगरपालिकाबाट आएको टोलीले पटके कर भनेर पाँच सय रुपियाँ राजस्वको रसिद थमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “डाला, नाङ्ला, ठेका चैत्राष्टमी मेलाका पहिचान हुन्, मैले ३०–३५ वर्षदेखि चैत्राष्टमी मेलामा चोयाबाट बुनेका डाला, नाङ्ला बिक्री गर्न र मेला हेर्न गाउँबाट सयौँ रुपियाँ भाडा तिरेर आउने गरेको छु । पहिले पहिले थोरै कर लिइने गरे पनि विगत तीन वर्षदेखि हामीबाट कुनै शुल्क उठाउने गरिएको थिएन । 

यस पटक भने आउनासाथ पाँच सय रुपियाँको रसिद थमाउनुभयो ।” मेला महोत्सवमा धेरै स्थानमा चोयाबाट बनेका सामग्री बिव्रिका लागि लगेको तर चैत्राष्टमी मेलामा मात्र कर लिएको उहाँले बताउनुभयो ।

महोत्सवमा मादल, डाला, नाङ्ला बिक्री गर्दै आउनुभएका अमृत बोहोराले नगरपालिकाको टोली पटक पटक आएपछि रसिद काटेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको संरक्षण गर्न नगरपालिकाले ध्यान दिनुपर्नेमा उल्टै राजस्व सङ्कलन गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रबर र प्लास्टिकका सामग्री आउँदा स्थानीय उत्पादनहरू लोप हुँदै गएका छन् । चैत्राष्टमी मेलामा स्थानीय उत्पादन बिक्रीको पहिचान हो तर गाउँ गाउँबाट दुःखका साथ आएका उद्यमीहरूलाई प्रोत्साहनको सट्टा उल्टै कर सङ्कलन गरेर नगरपालिकाले दुःख दियो ।”

महोत्सवमा काठबाट बनेका काठका भाँडा बिव्रmी गर्न आउनुभएका बागलुङ नगरपालिका–१२, अमलाचौरका अशोक खड्काले नगरपालिकाले राजस्व तिर्न पटक पटक भने पनि आफूले अझैसम्म रसिद नकाटेको बताउनुभयो । उहाँले अन्य ठाउँमा स्थानीय उत्पादनको संरक्षणका लागि भन्दै सेवासुविधा दिने गरे पनि आफ्नै जिल्लामा राजस्व सङ्कलन गर्नु जायज नभएको बताउनुभयो । नगरपालिकाले मेला परिसरमा मकै पोल्ने, फलामका सामग्री बिक्री गर्नेहरूबाट समेत राजस्व सङ्कलन गरेको छ । 

मेलाको आयोजक संस्था कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनलाई कुनै शुल्क लिएको छैन । समितिका अध्यक्ष कुमार खड्काले स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्य रहेको बताउँदै स्थानीय उत्पादनका व्यापार प्रवर्धन गर्न गाउँ गाउँबाट स्थानीय उत्पादन लिएर आउनेहरूबाट कुनै शुल्क नलिने निर्णय गरिएको बताउनुभयो । उहाँले स्थानीय उत्पादनका वस्तु बिक्री वितरण नभएमा आउने र जाने यातायात खर्चसमेत गुठीले दिने भन्दै स्थानीय उत्पादन लिएर आउन अनुरोध गर्नुभयो । अध्यक्ष खड्काले स्थानीय उत्पादनलाई कर नलिन नगरपालिकासँग आग्रह गरेको बताउनुभयो ।

बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले बागलुङ नगरपालिका राजस्व ऐन–२०८१ मा उल्लेख भए अनुसार पटके कर लिइएको बताउनुभयो । उहाँले आफूहरू कर्मचारी भएको बताउँदै नगरपालिकाको ऐन, कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्ने आफ्नो कर्तव्य रहेको बताउनुभयो । उहाँले हाटबजार पटके कर अनुसार ठेका भाँडा, डाला, नाङ्लालाई पनि पाँच सय रुपियाँ कर उठाउने भनेर उल्लेख गरेको बताउँदै सोही अनुसार राजस्व लिइएको बताउनुभयो ।

बागलुङ नगर राजस्व परामर्श समितिका संयोजक एवं उपप्रमुख राजु खड्काले स्थानीय उत्पादनसँंग राजस्व लिएको विषयमा सहजीकरण गर्ने प्रतिक्रीया दिनुभयो । उहाँले आफू कालिका मन्दिरको अध्यक्ष हुँदा पनि स्थानीय उत्पादनलाई कर नलिएको भन्दै स्थानीय उत्पादनका वस्तु लिएर मेलामा आएकाहरूलाई कर छुट गराउने विषयमा ध्यान दिने बताउनुभयो ।गोरखापत्र अनलाइन


२०८१ चैत्र २२ ०६:२० बजे

प्रतिक्रिया