बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।
पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामीझाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन डर त्रास देखाउँदै गएपछि छाउप्रथाले निरन्तरता पाएको हो । केही समय पहिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरेको झन्डै पाँच हजार २११ वटा छाउगोठ भत्काइएको थियो । छाउगोठ भत्किएपछि महिलाहरू आफ्नै घरमा बस्न थालेका थिए । अहिले अभियान बिस्तारै सेलाउँदै गएपछि यहाँका महिला देउताको डरले फेरि छाउगोठमा बस्न थालेका छन् ।
अघिपछि जस्तै महिनावारी भएको बेला पनि घरमै सुत्ने चाहना छ तर के गर्ने यहाँका बुढापाखा तथा धामीझाँक्रीले देवताको डर देखाएर रिसाउने गरेपछि छाउगोठमा सुत्न थालेको बुढीगङ्गा नगरपालिका–८ कि (नाम परिवर्तन) पार्वती थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएको बेलामा छाउगोठमा सुत्ने गरेकाले चिसोमा बिरामी हुने गरेको छु तर समाजका अगुवा नै यो प्रथाका नाइके भएपछि रोगभन्दा पनि देवताको डर ठुलो भएको छ ।”
अहिले पनि म महिनाको एक पटक अनिवार्य महिनावारी हुन्छु । त्यो महिनावारी भएको बेलामा मलाई मेरा घरकाले भित्र सुत्न नदिएपछि पाँच दिनसम्म छाउगोठमा सुत्ने गरेको थापाले बताउनुभयो । यो व्यथा केवल पार्वती थापाको मात्र होइन, यहाँका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह, बुढीनन्दा, जगन्नाथ, हिमाली, गौमूल र स्वामीकार्तिकलगायतका अन्य स्थानीय तहका महिलाको पनि हो । पुरानो पुस्ताको चलन नयाँ पुस्ताले पनि अँगाल्दै गएपछि यो प्रथा कायम रहेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष २०७६ र ७७ मा बडीमालिका नगरपालिका भित्रका पाँच वडालाई छाउगोठ मुक्त वडा घोषणा गरेको थियो । बिचमा कोरोनाको कहरका कारण यो अभियान सुत्त बन्यो ।
अहिले बडीमालिका नगरपालिकाका घाँगर, पिनालेख, जुगाडा, रजातोली, मार्तडीलगायत चार वडामा यो अभियान सफल हुन नसकेपछि यहाँका महिलालाई विभिन्न चेतनामूलक अभियान सुरु गर्दै आएका छन् । गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेपछि केही महिनाअघि बडीमालिका नगरपालिकाले पुनः छाउगोठ तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरेको छ । छाउप्रथाका कारण छाउगोठमा आगलागी हुँदा २०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैनको अगाउँपानीमा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो ।
यो घटना भएसँगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुराका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । पछिल्लो छाउगोठ बनाएर बस्न थालेपछि स्थानीय तहले पुनः अभियान थालिएको हो । यहाँका सबै वडामा छाउगोठ मुक्त टोल घोषणा गर्ने तयारी रहेको बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो ।
प्रतिक्रिया