राजावादीहरूको नक्कली राष्ट्रवादको पर्दाफास भएको छ- सि.पि. गजुरेल

लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन ।जनगणतन्त्र स्थापना गर्नका लागि एकताबद्ध भएर सङ्घर्षको बाटोमा अगाडि बढौँ

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन २८ १५:५६ बजे
सि.पि. गजुरेल गौरव का.वा. महासचिव

क्रान्तिकारी कम्युनिष्ट पार्टीका का.वा.महासचिव सिपि गजुरेलले  आज एक वक्तव्य जारी गर्दै  कथित राष्ट्रवादी भनिने राजावादीहरूको विरोध जुलुसमा ज्ञानेन्द्र शाहको फोटोको समकक्षमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरिएको घटनाले उनीहरुको नक्कली राष्ट्रवादको पर्दाफास गरेको छ वताएका छन।

वक्तव्यमा अगाडी भनिएको छ  नेपालमा झण्डै २४० वर्षदेखि शासन गर्दैआएको राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि जीवनमा नेपाली जनताले कुनै खास परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । यो व्यवस्थाको विरोधमा जनअसन्तोष र जनआक्रोश चुलिँदै गएको छ । जनता यसको विकल्पको खोजिमा छन् । 

यस पृष्ठभूमिमा यही २०८१ साल फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्रले “आफूले राष्ट्रको लागि त्याग गरेको, आवश्यकता परे अझै त्याग गर्न तयार रहेको र त्यसको निम्ति आफूलाई साथदिन जनतालाई आह्वान गर्दछु” भन्ने एउटा भिडियो वक्तव्य गरे । पछि फागुन २५ गते पोखराबाट फर्कने क्रममा काठमाडौँ विमानस्थलमा अवतरण गरेपछि उनलाई स्वागत गर्ने नाममा उल्लेखनीय भिड देखापर्यो । उक्त भिडले “राजा आउ देश बचाउ”, “लोकतान्त्रिक गणतन्त्र मूर्दावाद” जस्ता नारा लगाएर राजावादीहरूले प्रदर्शन गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ । यसले नेपालको लागि उपयुक्त व्यवस्था कुन हो त ? भन्ने प्रश्न खडा गरेको छ । यो प्रश्नको सही जवाफ खोज्ने उपयुक्त  समय आएको छ । 

नेपालमा तीन अलग प्रकृतिका राजनीतिक शक्तिहरू छन् । ती हुन्  अग्रगामी, यथास्थितिवादी र पश्चगामी । पहिलोमा नेपालमा जनगणतन्त्रको स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादलाई आफ्नो लक्ष्य मान्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका कम्युनिस्ट पार्टी तथा सङ्गठनहरू; दोस्रोमा लोकतान्त्रिक गणतन्त्रलाई अभीष्ट मान्ने नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाली कांग्रेस लगायतका संसदवादी पार्टीहरू र तेस्रोमा सङ्ग्रहालयमा थन्क्याइसकिएको राजतन्त्रलाई फेरि फर्काउन चाहने राप्रपा लगायतका राजावादी सङ्गठनहरू पर्दछन् । 

राज्य सञ्चालन, स्रोत दोहन र संसदमा सङ्ख्याको दृष्टिले यतिखेरको अवस्थामा यथास्थितिवादी शक्तिहरू बलिया जस्ता देखिएका छन् । राजावादीका तुलनामा यिनीहरू एक कदम अगाडि हुन्, तर जनगणतन्त्रको तुलनामा यी पश्चगामी नै हुन् । यो शक्तिले प्रतिक्रियावादी वर्गको नै प्रतिनिधित्व गर्ने भएकोले यसले नेपाली समाजलाई रूपान्तरण गर्न सक्दैन । वर्तमान अवस्थामा नेपाली राजनीतिमा यी तीन धारहरू रहेको यथार्थलाई बुझ्नु, बुझाउनु र तदनुसार अग्रगामी परिवर्तनका लागि आवाज उठाउनु आजको आवश्यकता हो ।

२४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य कुनै लहडमा होइन ऐतिहासिक आवश्यकताले भएको हो । त्यसकारण यो उल्टिन सक्दैन । जहाँसम्म लोकतान्त्रिक गणतन्त्रको कुरा हो त्यसले नेपालमा विद्यमान समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा गत दुई दशकका घटनाक्रमले राम्रोसँग पुष्टि गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन ।

अन्तमा नेपालका सबै अग्रगामी र क्रान्तिकारी शक्तिहरूलाई नेपालमा जनगणतन्त्र स्थापना गर्नका लागि एकताबद्ध भएर सङ्घर्षको बाटोमा अगाडि बढ्न हामी जोडदार आह्वान गर्दछौं  वक्तव्यमा भनिएको छ।


 


२०८१ फागुन २८ १५:५६ बजे

प्रतिक्रिया