पोखराबाट काठमाडौँ फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले निकालेको जुलुसमा भारतीय सत्ताधारी पार्टीका एक नेताको फोटो प्रदर्शन गरिएको छ ।
पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिलगायत विभिन्न समूहमा छरिएर रहेका राजावादीहरुले संयुक्तरुपमा गरेको शक्ति प्रदर्शनमा उत्तर प्रदेशमा मुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का नेता योगी आदित्यनाथको फोटो अंकित ब्यानर देखाइएको हो ।
पूर्व राजा ज्ञानेन्द्रको ठूलो तस्वीरकै साइजमा बनाइएको ब्यानरमा योगीको फोटोमुनि 'राजसंस्था पुनर्स्थापित गरौँ' लेखिएको छ । यो तस्वीर प्रदीपविक्रम राणा नामका एकजना राजावादीले इस्पोन्सर गरेका हुन् । ब्यानरमा उनको नाम प्रष्ट बुझिने गरी उल्लेखित छ ।
पूर्व राजा शाह र योगीको ठूलो फोटोसहित प्रदर्शनकारी त्रिभूवन विमानस्थल क्षेत्र पुगेका थिए । भारतीय नेताको तस्वीर राखेर नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै सडक प्रदर्शन गरेकोमा धेरैले आश्चर्य मानेका छन् । सामाजिक सञ्जालमा यसको चर्को विरोध भैरहेको छ ।
स्मरण रहोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र मानिने योगी आदित्यनाथ नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा खुलेआम वकालत गर्दै आएका व्यक्ति हुन् । पूर्व राजा ज्ञानेन्द्रले भारतको यूपी पुगेर बेलाबेला उनलाई भेटने गरेका छन् । पछिल्लो पटक डेढ-दुई महिनाअघि उनले भारतको लखनऊमा गोप्य भेटवार्ता गरेको वताइन्छ ।
प्रतिक्रिया